16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

कोहलपुर नगरपालिकाद्वारा मेलमिलापकर्ताहरूलाई परिचयपत्र वितरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख १२, २०८१  

कोहलपुर ।

कोहलपुर नगरपालिकाले वडामा रहेका मेलमिलापकर्तालाई परिचयपत्र तथा बोर्ड वितरण गरेको छ । कोहलपुर नगरपालिकाका उप–मेयर संगीता सुवेदीले १ देखि ५ नम्बर वडाका मेलमिलापकर्तालाई आधिकारिक परिचयपत्र तथा बोर्ड वितरण गरेकी हुन् ।

सो अवसरमा बोल्दै उनले वडामा आएका विभिन्न मुद्दाहरू मेलमिलाप गर्न खोज्दा आधिकारिक परिचयपत्र खोज्ने गरेकाले पनि मेलमिलापकर्तालाई परिचयपत्र वितरण गरिएको बताइन् । वडामा आउँदा सहजै मेलमिलापकर्ता चिन्न फोटोसहितको बोर्डसमेत वितरण गरिएको जानकारी दिइन् ।

समुदायमा हुने झैझगगडा, जग्गाविवाद, पारिवारिक झगडा वडामै मेलमिलाप हुन सके नगरपालिकामा केही सहज हुने न्यायिक समिति संयोजक संगीता सुवेदीको भनाइ छ ।

कोहलपुर नगरपालिका–१ मा अहिलेसम्म २६ वटा मुद्दा दर्ता भएको मेलमिलापकर्ता संयोजक अम्मरबहादुर लामिछानेले बताए । वैशाख १० गतेसम्म २४ वटा मुद्दा मिलाउन सफल भएको उनको भनाइ छ । त्यसमा रहेका बाँकी २ मुद्दा नगरपालिका पठाइएको उनले जानकारी दिए ।
नगरपालिकाको परिचयपत्र पाएपछि काम गर्न सहज हुने उनको भनाइ छ ।

त्यस्तै कोहलपुर नगरपालिका–२ का वडाध्यक्ष हरि कठायतले सबैभन्दा धेरै सक्रिय र मेलमिलाप गराउने वडाका रूपमा आफ्नो वडा रहेको दाबी गरे । वडामा विभिन्न समस्या लिएर आउने स्थानीयलाई सहज रूपमा मेलमिलाप गराई खुसीका साथ घर पठाउने गरिएको उनले बताए ।

मेलमिलापकर्ताहरूले विगतका दिनमा मुद्दा मिलाएबापत प्रतिमुद्दा ९ सय रुपैयाँ पाउने गरेको भए पनि यस वर्षदेखि प्रतिमुद्दा १५ सय रुपैयाँ बनाइएको जानकारी दिए । ‘आजका दिनसम्म मेलमिलापकर्ताले पाउने सेवा सुविधा भनेकै मुद्दा मिलाएको पैसा हो,’ उनले भने, ‘यो पैसा अलिकति बढेकाले अब उनीहरूलाई पनि अलि सहज हुनेछ ।’

वडा नम्बर २ मा असारदेखि अहिलेसम्म ६५ वटा मुद्दा दर्ता भएको उनले जानकारी दिए । त्यसमा ३९ वटा मिलान गर्न सफल भएको र ८ वटा मुद्दा नगरपालिकामा सिफारिस गरिएको उनले बताए ।

प्रकाशित मितिः बुधबार, बैशाख १२, २०८१     10:25:47 AM  |