16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

अव्यवस्थित सडक निर्माणले थप डुबानको खतरा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख १२, २०८१  

कोहलपुर ।

कोेहलपुर नगरपालिका–६ स्थित ज्योतिनगर टोलमा अव्यवस्थित सडक निर्माणका कारण बस्ती डुबानमा पर्ने भएको छ । बर्खाको समयमा बर्सेनि डुबानको समस्या झेल्दै आएका यहाँका बासिन्दाले अव्यवस्थित सडक र नाली निर्माणका कारण थप डुबानको समस्या झेल्नुपर्ने भएको हो ।

अव्यवस्थित निर्माणले बर्खाका बेला बस्ती नै खतरामा परेको स्थानीयबासीको भनाइ छ । एकातिरबाट निर्माण गर्ने भनिएको सडक र नाली अर्कैतिरबाट निर्माण हुँदा डुबानको समस्या थपिने उनीहरूले बताएका छन् । एकातिरबाट निर्माण सुरु गर्नुपर्ने सडक सहमतिविपरीत अर्कोतिरबाट निर्माण थालिएको भन्दै ज्योतिनगरका स्थानीयले सडक बन्दसमेत गरेका छन् ।

‘हामीले हाम्रो कुराको सुनुवाइ होस् भनेर सडक बन्द गरेका हौँ,’ ज्योतिनगरका स्थानीयबासी कर्ण मल्लले भने, ‘यहाँ हामीलाई झुक्याउने काम भएको छ । जसका कारण हामी थप डुबानको समस्यामा पर्ने भएका छौँ ।’

टोल विकास संस्थाका अध्यक्ष हर्कबहादुर बुढ्थापा, सहरी विकास कार्यालय नेपालगन्जका कर्मचारी, जनप्रतिनिधिलगायतको मिलेमतोमा एक ठाउँबाट बनाउन सुरु गर्ने भनिएको बाटोलाई अर्कै ठाउँबाट सुरु गरिएको उनले आरोप लगाए । कोहलपुर वडा नम्बर ६ र ११ को साँधबाट बालविद्या सदनसम्म जोड्ने भनिएको बाटो वडा नम्बर ६ कै बालविद्या सदन स्कुलनिरबाट सुरु गरिएकोेमा उत्तरतिरका स्थानीयबासीले विरोध जनाएका हुन् ।

योजना छनोट हुँदा रातो किताबमा समेत कोहलपुर वडा नम्बर ६ र ११ को सिमानादेखि बाल विद्या सदन र शिव शिखरदेखि पूर्व जोड्ने भनिएकोमा उल्टोतिरबाट काम सुरु गरेर ज्योतिनगरका बासिन्दालाई जिल्याइएको अर्की स्थानीयबासी ममता शाहीले बताइन् ।

टोल विकास संस्थाका अध्यक्ष बुढ्थापाले आफ्नो घरअघिको बाटो र नाली बनाउनकै लागि सबै स्थानीय उपभोक्तालाई गुमराहमा राखेर किर्ते कागज गरी भनिएभन्दा विपरीत दक्षिणतिरबाट बाटो निर्माण गर्न लगाएको उनको भनाइ छ ।

कर्मचारी र जनप्रतिनिधिसँगको मिलेमतोमा अध्यक्ष थापाले पछि सबै किर्ते कागज बनाएर तलतिरबाट काम सुरु गराएको उनको आरोप छ । ‘योजना पर्दा रातो किताबमा स्पष्ट रूपमा कोहलपुर वडा नम्बर ६ र ११ को सिमानादेखि बालविद्या सदनसम्म भनिएको छ,’ उनले भनिन्, ‘त्यो डकुमेन्ट लुकाएर बुढ्थापाले अरू सबै किर्ते डकुमेन्ट बनाएका छन् ।’

तर टोल विकासका अध्यक्ष थापा भने सहमति गरिएअनुसार नै काम भइरहेको दाबी गर्छन् । ‘यो उहाँहरूको बुझाइमा मात्र फरक परेको हो,’ उनी भन्छन्, ‘सहमतिअनुसार वडा नम्बर ६ र ११ को सिमानादेखि नै निर्माण थालिएको छ ।’ उत्तर र दक्षिण दुवैतिर वडा नम्बर ६ र ११ को सिमाना पर्ने भएकाले बुझाइमा फरक परेको बुढ्थापाको भनाइ छ ।

सहरी विकास तथा भवन कार्यालयसँगको सम्झौता, वडाका सिफारिस र डिपिआरलगायतका सबै डकुमेन्टअनुसार नै काम भइरहेको उनले दाबी गरे । ‘यो काम भनिए अनुसार प्रक्रियागत ढंगले नै अघि बढिरहेको छ । कोही माइकालाल आए पनि यसलाई परिवर्तन गर्न सक्दैन,’ उनले कागजपत्र देखाउँदै भने, ‘कागजी प्रक्रियामा हर्कबहादुर कहाँनिर चुकेको छ, त्यो देखाइदिनुस् ।’

उनले प्रस्तुत गरेका सबै कागजपत्र सही नै भए पनि सबै कागजपत्र किर्ते गरेर पछि बनाइएको स्थानीयको आरोप छ । बुढ्थापाले पुराना सहमतिका डकुमेन्ट लुकाएर नदेखाउने गरेको पनि उनीहरूले आरोप लगाए ।

संघीय सहरी विकास मन्त्रालयको ५० लाख बजेटमा निर्माण भइरहेको सो सडक र नालीको काम करिब–करिब अन्तिम चरणमा पुगेको छ । तर सोही बजेटबाट केही बजेट भने उत्तरतिर शिव शिखरदेखि पूर्वको करिब २० मिटर सडक स्तरोन्नतिका लागि छुट्याइएको स्थानीयको भनाइ छ । ‘बीचको बाटो अधुरै छोड्ने तर त्यही बजेट लगेर अन्यत्र हाल्ने,’ उनीहरूको सामूहिक भनाइ छ, ‘यो सबै कर्मचारी र जनप्रतिनिधिको मिलिभगतको खेल हो ।’

कोहलपुर नगरपालिका–६ का वडाध्यक्ष श्रीकृष्ण थारूले सबैले आफ्नो अगाडिको बाटो पहिला बनाउन खोज्दा विवाद सिर्जना भएको बताए । उनले पनि सो सडक र नाली माथितिरबाटै सुरु गर्नुपर्नेमा तलबाट सुरु गरिएको स्वीकार गरे । ‘जहाँ भए पनि वडाको विकास हुनुपर्छ भन्ने मेरो मान्यता हो,’ वडाध्यक्ष थारू भन्छन्, ‘काम सुरु गर्नुभन्दा पहिल्यै विरोध गर्नुपर्नेमा यतिबेला आएर स्थानीयले विरोध गर्नुको कुनै अर्थ छैन ।’

डुबानको समस्याबाट पार पाउनकै लागि पहिला आफ्नोतिरको सडक र नाली बनाउने कुरालाई स्थानीयले प्राथमिकतामा राखेको देखिन्छ । तर सहरी विकास कार्यालयको अव्यवस्थित निर्माणबाट यहाँका बासिन्दा थप डुबानको समस्यामा पर्ने खतरा बढेको छ । तलबाट आधा मात्र सडक र नाली निर्माण भएपछि बीचका घरहरूले थप डुबानको समस्या झेल्नुपर्ने स्थानीयको भनाइ छ ।

प्रकाशित मितिः बुधबार, बैशाख १२, २०८१     10:22:31 AM  |