15 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

कोहलपुर–१५ मा ब्युटीपार्लर तालिम सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख १२, २०८१  

बाँके ।

कोहलपुर नगरपालिका–१५ मा महिलाहरूका लागि सीपमूलक ब्युटीपार्लर तालिम सुरु भएको छ । वडा नम्बर १५ को आर्थिक सहयोग र समाज सेवा संस्था नेपाल कोहलपुरको आयोजनामा सोमबारदेखि तालिम सुरु भएको हो ।

तालिमको वडा सचिव हरि कृष्ण थारूले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले सीपमूलक तालिमका लागि वडाले बजेट विनियोजन गरेको जानकारी दिए । ‘वडाबासीलाई सीपमूलक तालिम दिएर सकेसम्म रोजगारी प्रदान गर्ने वडाको लक्ष्य रहेको छ,’ वडा सचिव थारूले भने, ‘सोही अनुसार बर्सेनि बजेट छुट्याइरहेका छौं ।’

आयोजक समाज सेवा संस्था नेपाल कोहलपुरका अध्यक्ष विनोद थापाले महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि ब्युटीपार्लर तालिम दिन लागिएको जानकारी दिए ।

सोमबारदेखि सुरु भएको ब्युटीपार्लरको आधारभूत तालिम एक सातासम्म सञ्चालन हुने उनले बताए । ‘महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि सीपमूलक तालिम दिने क्रममा ब्युटीपार्लर तालिम दिन लागिएको हो,’ अध्यक्ष थापाले भने, ‘तालिम एक सातासम्म निरन्तर चल्नेछ ।’

तालिममा वडाभित्रका ५० जना महिलाहरूको सहभागिता रहेको आयोजक समाज सेवा संस्था नेपाल कोहलपुरले जनाएको छ । ब्युटीपार्लरको तालिम उमा सुनारले दिइरहेकी छन् ।

प्रकाशित मितिः बुधबार, बैशाख १२, २०८१     8:05:33 AM  |