16 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

कोहलपुर परीक्षा नजिता विवाद प्रकरणःअनियमितता पुष्टि, धेरैको संलग्नता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख ९, २०८१  

कोहलपुर।
कोहलपुर नगर शिक्षा शाखाद्वारा सञ्चालित कक्षा ८ को नतिजा प्रकाशनमा अनियमितता पुष्टि भएको छ । अनियमिततामा विभिन्न व्यक्ति तथा संस्थाको संलग्नता रहेको पाइएको छ ।नतिजा विवादबारे छानबिन गर्न गठिन छानबिन समितिले सो प्रकरणमा अनियमितता भएको उल्लेख गर्दै शुक्रबार कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यलाई प्रतिवेदन बुझाएको छ ।

कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहको संयोजकत्वमा निर्मित समितिले दुई साताको छानबिनपछि शुक्रबार नगर प्रमुखलाई प्रतिवेदन बुझाएको हो । समिति संयोजक शाहले छानबिनका क्रममा सार्वजनिक रूपमा विवादित विषयमा छानबिन गर्नुका साथै विभिन्न व्यक्तिसँग बयानसमेत लिइएको जानकारी दिए । ‘परीक्षाको नतिजा प्रकाशनमा अनियमितता भएकै देखियो,’ उनले भने, ‘त्यो सबै कुरा हामीले प्रतिवेदनमा उल्लेख गरेका छौँ । अब त्यो सार्वजनिक भएपछि तपाईंहरूले थाहा पाउनुहुनेछ ।’

सो प्रकरणमा व्यक्तिगत तथा संस्थागत रूपमै धेरैको संलग्नता पाइएको उनले बताए । विद्यालय बाहिरका व्यक्तिको समेत संलग्नता भेटिएको उनको भनाइ छ । ‘क–कसले कसरी अनियमितता ग¥यो भनेर हामीले सबै कुरा प्रतिवेदनमा उल्लेख गरिदिएका छौँ,’ संयोजक शाहले भने, ‘कार्यपालिका बैठकपछि यसलाई सार्वजनिक गर्ने निर्णय भएको छ । अब बस्ने कार्यपालिका बैठकले कारबाही प्रक्रियाबारे निर्णय गर्ला ।’

छानबिनका क्रममा यो समस्या निकै जेलिएको पाइएकाले समय थप गर्नुपरेको र थप समयभित्रै समितिले सम्पूर्ण तथ्य संकलन गरेर प्रतिवेदन बुझाएको उनले बताए । एक साताको समय पाएको समितिले छानबिनका क्रममा समय अभाव भएपछि थप एक साता समय लिएर छानबिन गरी प्रतिवेदन तयार पारेको थियो । कोहलपुरको शिक्षा क्षेत्रमा अन्य समस्याहरू पनि रहेकाले यसको सुधार आवश्यक भएको समिति संयोजक शाहको भनाइ छ ।

निवेदन परेका र विवादित विद्यालयहरूलाई मात्र छानबिनको दायरामा ल्याएको समितिले थप विद्यालयहरूमा समेत उत्तरपुस्तिका संपरीक्षण गर्ने भएको छ । ‘समितिको दुईहप्ते अध्ययन तथा छानबिनबाट अन्य विद्यालयमा समेत अनियमितता भएको हुनसक्ने देखियो,’ संयोजक शाहले भने, ‘त्यसैले अहिले हामी कोहलपुरका ४२ वटै विद्यालयका उत्तरपुस्तिका संपरीक्षण गरिरहेका छौँ ।’

छानबिनका क्रममा परीक्षासँग आकर्षित सबै व्यक्तिहरूसँग समितिले बयान लिइएको छानबिन समिति सदस्य सुमित्रा न्यौपानेले जानकारी दिइन् । उनले पनि परीक्षामा अनियमितता भएको पुष्टि गरिन् । ‘नतिजा प्रकाशनमा अनियमितता भएकै भेटियो,’ न्यौपानेले भनिन्, ‘अब कारबाहीको प्रक्रियामा नगरपालिका कसरी अगाडि बढ्छ, त्यो नगरपालिकाकै विषय हो ।’
उनले दोषीमाथि कारबाही हुने कुरामा आफू आशावादी रहेको बताइन् ।

‘मेयरसाब पनि यस विषयमा गम्भीर भएर लागिरहनुभएको छ,’ उनले भनिन्, ‘विधिसम्मत् तरिकाबाट कारबाही प्रक्रिया अगाडि बढ्ला ।’ समितिले प्रतिवेदन बुझाएपछि अब बल नगर कार्यपालिका र नगर प्रमुखको कोटमा पुगेको छ । आफूले प्रतिवेदन अध्ययन गरिरहेको र आगामी कार्यपालिका बैठकमा प्रतिवेदन पेस गरिने नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए ।

‘भोलि वा पर्सि (९ वा १० गते) बस्ने कार्यपालिका बैठकमा छलफल गरेर अगाडि बढ्छौँ,’ नगर प्रमुख आचार्यले भने, ‘निर्दोष व्यक्ति कारबाहीमा नपरुन् भनेर व्यापक छलफल गरेर छानबिनपछि मात्र कारबाही प्रक्रियामा जान्छौँ ।’ कार्यपालिकाको बैठकपछि मात्र प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिँदै उनले आफू अहिले कानुनी र प्रशासनिक छलफलमा रहेको बताए ।

‘पहिला कार्यपालिकामा यस विषयमा छलफल हुनुप¥यो,’ उनले भने, ‘त्यसपछि कारबाहीको प्रक्रिया अगाडि बढ्छ ।’ आफू दोषीलाई कारबाही गर्ने कुरामा दृढ रहेको मेयर आचार्यको दाबी छ । समिति संयोजक शाह पनि प्रतिवेदन कार्यान्वयन हुनेमा ढुक्क छन् । ‘हामीले निष्पक्ष छानबिन गरेर आफ्नो जिम्मेवारी पूरा गरेका छौँ,’ उनले भने, ‘मेयरसाब पनि यस विषयमा चिन्तित हुनुहुन्छ, कानुनसम्मत् तरिकाले कारबाही प्रक्रिया अगाडि बढ्नेमा म ढुक्क छु ।’

प्रकाशित मितिः आइतवार, बैशाख ९, २०८१     6:04:43 PM  |