16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

हाईस्कुल सडक दुर्घटना: चार वर्षपछि केएल दुगडले बुझायो क्षतिपूर्ति

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख ७, २०८१  

विसं २०७६ साल मंसिर २२ गते कोहलपुर–१० स्थित त्रिभुवन माविको गेटनजिक भएको सडक दुर्घटनामा दुवै खुट्टा गुमाएकी १२ वर्षीय (तत्कालीन अवस्थामा) प्रकृति चन्दलाई चार वर्षपछि केएल दुगड गु्रपले क्षतिपूर्तिबाफतको रकम दिएको छ ।

कोहलपुर ।

कोहलपुरमा भएको एक सडक दुर्घटनाकी पीडितले चार वर्षपछि बिहीबार क्षतिपूर्ति पाएकी छन् । विसं २०७६ साल मंसिर २२ गते कोहलपुर–१० स्थित त्रिभुवन माविको गेटनजिक भएको सडक दुर्घटनामा दुवै खुट्टा गुमाएकी १२ वर्षीय (तत्कालीन अवस्थामा) प्रकृति चन्दलाई चार वर्षपछि हिजो बिहीबार कम्पनीले क्षतिपूर्ति दिएको हो ।

सो दुर्घटनामा कोहलपुर–१४ स्थित केएल दुगड गु्रपद्वारा सञ्चालित विकास फ्लोर मिल (तत्कालीन) को बा२ख ९४५९ नम्बरको ट्रकले चन्दलाई ठक्कर दिएको थियो । स्कुटीबाट स्कुल जाँदै गरेकी चन्दलाई स्कुल गेटनजिकै पछाडिबाट आएको सो ट्रकले ठक्कर दिँदा उनका दुवै खुट्टा गुमेका थिए ।

यसअघि बालिकाको उपचारपछिको क्षतिपूर्तिका लागि सम्झौता गरे पनि आलटाल गर्दै आएको दुगड गु्रपले क्षतिपूर्ति नदिँदा भविष्यमा अप्ठ्यारो पर्ने आंकलन गर्दै अन्ततः बिहीबार कोहलपुरस्थित उद्योग व्यापार संघको रोहबरमा पीडितका आफन्तलाई १० लाखको चेक हस्तान्तरण गरेको छ ।

क्षतिपूर्तिका लागि यसअघि पहल गर्दै आए पनि कम्पनीले सुनुवाइ नगरेको घाइते प्रकृतिकी आमा भगवती शाहीले बताइन् । ‘हामीले क्षतिपूर्तिका लागि पहिला पनि पहल नगरेका होइनौँ,’ उनले भनिन्, ‘तर अदालतमा मुद्दा चलिरहेको बहाना बनाउँदै कम्पनीले क्षतिपूर्ति दिन अस्वीकार गर्दै आएको थियो ।’ सो मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ ।

एकाएक क्षतिपूर्ति दिन दुगड गु्रप कसरी राजी भयो त ? भगवतीका अनुसार यसको पनि एउटा छुट्टै कथा छ । केही समयअघि ‘नागरिक बचाउ अभियान’का अभियन्ता दुर्गा प्रसाईं कोहलपुर आएका थिए । उनी आएका बेला प्रकृतिसहित उनका आफन्तले प्रसाईंसँग सबै कुराको बेलिबिस्तार लगाए । प्रसाईंले पनि क्षतिपूर्ति दिलाउन र नक्कली खुट्टा राख्न आफूले सहयोग गर्ने वचन दिए ।

विशेषगरी नेपालका मारवाडी समुदायलाई तारो बनाउँदै आएका प्रसाईंसम्म कुरा पुगेपछि केएल दुगड गु्रप क्षतिपूर्ति दिन तयार देखिएको भगवतीले बताइन् ।

‘दुर्गा दाइसम्म कुरा पुगेपछि माहोल एकाएक फेरियो,’ शाहीले भनिन्, ‘बल्ल कम्पनीले मुद्दा अदालतमा विचाराधीन रहे पनि क्षतिपूर्ति दिन सकिने कुरा ग¥यो ।’ तर कम्पनीले त्यसका लागि एउटा सर्त तेस्र्यायो । कुनै आधिकारिक संस्थाको रोहबरमा मात्र क्षतिपूति दिन सकिने दुगड गु्रपको सर्त थियो । त्यसपछि पीडितहरू आधिकारिक संस्थाको सहयोगको खोजीमा लागे ।

‘तर कुनै संस्थाले रोहबर बसिदिन मानेनन्,’ भगवतीले भनिन्, ‘कोहलपुरको उद्योग वाणिज्य संघदेखि स्थानीय सरकारसम्म कसैले पनि रोहबरमा बस्न मानेनन् । अन्त्यमा विष्णु दाइ (विष्णु खनाल)को सहयोगमा हिजो १० लाखको चेक बुझ्यौँ ।’

विष्णु खनाल अध्यक्ष रहेको उद्योग व्यापार संघको रोहबरमा कम्पनीका प्रतिनिधिले बिहीबार संघकै कार्यालयमा आएर १० लाखको चेक पीडितका आफन्तलाई हस्तान्तरण गरेका थिए ।

दुगड गु्रपले यसअघि प्रकृतिको उपचारमा खर्च गर्दै आएको भए पनि उपचारपछिको क्षतिपूर्ति दिन आनाकानी गर्दै आएको भगवतीले
बताइन् । प्रकृतिको उपचारमा कम्पनीले १७/१८ लाख खर्च गरे पनि आफूहरूको पनि निकै खर्च भएको उनले बताइन् । ‘बेलाबेलामा अप्रेसन गरिराख्नुपर्छ,’ उनले भनिन्, ‘हाम्रो पनि कति खर्च भयो कति ।’

केही समयपछि पनि प्रकुतिको खुट्टाको अप्रेसन हुन लागेको उनले जानकारी दिइन् । साथै प्रसाईंकै पहलमा प्रकृतिका लागि कृत्रिम खुट्टा राख्ने प्रयास पनि भइरहेको उनले जानकारी दिइन् ।

‘चार वर्षअघि भएको दुर्घटनाको क्षतिपूर्ति पीडित पक्षले अझै पाएको रहेनछ,’ उद्योग व्यापार संघका अध्यक्ष खनालले भने, ‘हामीले थाहा पाएर पहल गरेको एक हप्तामै उहाँहरूलाई क्षतिपूर्ति दिलाउन सफल भयौँ ।’

तत्कालीन समयमा कोहलपुरमा भएको यो दुर्घटनाले राष्ट्रिय रूपमै निकै चर्चा पाएको थियो । सडक किनारामा रोकिएको स्कुटीमा रहेकी चन्दलाई एकाएक पछाडिबाट आएको ट्रकले ठक्कर दिएर घाइते बनाएपछि कोहलपुरमा ठूलो आन्दोलन चर्किएको थियो ।

आन्दोलनका क्रममा प्रहरीको गोली लागी एक जना विद्यार्थीसमेत गम्भीर घाइते भएका थिए । त्यसपछि झन् कोहलपुरका स्थानीयबासीले आन्दोलन चर्काएका थिए ।

प्रकाशित मितिः शुक्रबार, बैशाख ७, २०८१     9:57:54 AM  |