16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

बाँकेमा बाढीसँगै बगे १६ सीमा स्तम्भ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख ४, २०८१  

नेपालगन्ज ।

बर्सेनि राप्ती नदीमा आउने बाढीले गाउँबस्तीलाई मात्रै होइन नेपाल–भारत सीमा छुट्याउने दशगजा क्षेत्रमा पनि निकै असर पु¥याउने गरेको छ । वर्षाको बाढीसँगै बाँकेमा राप्ती नदीलगायतका नदीनाला क्षेत्रमा रहेका सीमा स्तम्भ बग्ने गरेका छन् ।

नेपाल र भारतको सीमा नदीका रूपमा रहेको राप्ती किनारमा रहेका सीमा स्तम्भहरू बाढीले कटान गर्दा स्तम्भहरू नदीमै हराउने गरेका छन् । बाँकेका नदीनाला क्षेत्रमा रहेका १६ वटा सीमा स्तम्भहरू बगेको सशस्त्र प्रहरी बल ३० नम्बर बागेश्वरी गणले जनाएको छ ।

राप्ती नदीमा हरेक वर्ष वर्षायाममा बाढी आउँदा कटानसँगै नदीको बहावले दिशा परिवर्तन गर्ने गरेको छ । नेपाल र भारततर्फ स्थायी तटबन्ध नहुँदा बाढीबाट सीमा स्तम्भ जोगाउन दुबै देशलाई चुनौती छ ।

नरैनापुर गाउँपालिका–५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्यले आफ्नो वडामा मात्र ३ वटा स्तम्भ नदीले बगाएको जानकारी दिए । नरैनापुरका अन्य वडाहरूमा पनि स्तम्भ कटानमा परेको जनाउँदै उनले यो बाँकेमा पुरानै समस्या भएको बताए ।

बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा नाकाअन्तर्गत ५ वटा मुख्य र ११ सहायक गरी १६ सीमा स्तम्भ बगेको स्थानीयको भनाइ छ । त्यसबाहेकको अन्य सीमा स्तम्भ सुरक्षित रहेको र त्यसको सशस्त्र प्रहरी र भारतीय एसएसबीबाट अनुगमन हुने गरेको वडाध्यक्ष मौर्यले बताए । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले केही महिनापहिले सीमा स्तम्भहरूको मर्मत र रङरोगनसमेत गरेको थियो ।

दुई देशको संयुक्त निर्णयमा केही महिनाअघि सशस्त्र प्रहरीले ७१ सीमा स्तम्भ रङरोगन गरेको हो । सन् २०१४ यता बनेका १ सय ४० सीमा स्तम्भमध्ये नेपालले बिजोर नम्बर र भारतले जोर नम्बर भएका सीमा स्तम्भ रङरोगन गरेका थिए ।

सीमा स्तम्भ बगेको विषय नयाँ नभई धेरै पुरानो हो । खासमा बाँकेमा नेपाल–भारत सीमा हुँदै राप्ती नदी बग्छ । सोही नदी क्षेत्रमा पर्ने १६ वटा सीमा स्तम्भ वर्षांै पहिले बाढीले बगाएका हुन् । बाढीबाट सीमा स्तम्भ जोगाउन दुबै देशलाई चुनौती छ ।

‘हरेक वर्ष राप्ती नदीमा आउने बाढीले सीमा स्तम्भ भएको जमिन कटान गर्छ । अनि सीमा स्तम्भ बग्छन् । यो हरेक वर्षको समस्या हो,’ वडाध्यक्ष कृष्णचन्द्र मौर्यले भने, ‘खासमा यो हराएको वा कसले वरपर सारेको भन्दा पनि नदीमा आउने बाढीका कारण निम्तिएको समस्या
हो ।’

सीमा स्तम्भ सुरक्षित र यथास्थानमा रहे पनि विगतदेखि नै राप्ती नदी क्षेत्रमा पर्ने स्तम्भ भने ठूलो बाढी आउँदा बग्ने गरेका छन् । दुबै देशका लागि नदीनाला क्षेत्रका सीमा स्तम्भ जोगाउन धौ–धौ पर्ने गरेको छ ।

सशस्त्र प्रहरी बल ३० नम्बर बागेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीका अनुसार बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा क्षेत्रमा ३२ मुख्य र २ सय ७९ सहायक गरी ३ सय ११ सीमा स्तम्भ रहेका छन् ।

कुनै पनि सीमा स्तम्भको मर्मत र रङरोगन गर्नका लागि नेपाल भारत दुवै देशको संयुक्त प्रतिनिधित्व चाहिन्छ । त्यस्तो अवस्थाका कारण बाढीले बगाएका सीमा स्तम्भ बनाउन दुबै देशले सहकार्य गर्नुपर्छ ।

सीमा स्तम्भ नदीनालाले बगाएको वा ढलेको भए दुई देशको नापी विभागको संयुक्त टोली बिना केही गर्न नपाइने व्यवस्था छ । सशस्त्र प्रहरी बलले सीमा स्तम्भको नियमित अनुगमन, संरक्षण गरी सम्बन्धित निकायमा पठाउने गरेको छ ।

प्रकाशित मितिः मङ्लबार, बैशाख ४, २०८१     7:57:08 AM  |