29 April 2024  |   सोमवार, बैशाख १७, २०८१

कोहलपुर परीक्षा नतिजा विवाद : छानबिन समितिको म्याद एक साता थपियो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख ४, २०८१  

कोहलपुर ।

कोहलपुर नगरपालिकाद्वारा आधारभूत तह उत्तीर्ण (कक्षा ८) परीक्षाको नतिजा प्रशासनमा भएको अनियमितताबारे छानबिन गर्न गठित समितिले समयमै आफ्नो प्रतिवेदन पेस गर्न नसकेपछि एक साताका लागि म्याद थप गरिएको छ । छानबिन नसकिएकाले एक साताको म्याद थप गरिएको नगरपालिकाले जनाएको छ ।

एक साताको समय दिएर कोहलपुर नगरपालिकाले चैत २५ गते कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष वीरेन्द्र शाहको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति निर्माण गरेको थियो । तर समितिले समयमा काम नसकेकाले एक साताको समय थप गरिएको छ । समितिको मागबमोजिम एक साता समय थप गरिएको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए ।

उत्तरपुस्तिका पुनर्योग तथा संपरीक्षण गर्नुपरेकाले समितिलाई समय अभाव भएको मेयर आचार्यले बताए । ‘४३ वटा विद्यालयका उत्तरपुस्तिका पुनर्योग तथा संपरीक्षण गर्दा समितिलाई समय लाग्यो,’ नगर प्रमुख आचार्यले भने, ‘बरु समय लागोस् तर निष्पक्ष छानबिन होस् भनेर समय थपिएको हो ।’

एक साताको समय छोटो भएकाले छानबिन गर्न नभ्याइएको समिति संयोजक शाहले बताए । ‘हामी छानबिनको काम निरन्तर गरिरहेका छौँ, सरोकारवालासँग बयान लिने काम अहिले पनि चलिरहेको छ,’ समितिका संयोजक शाहले भने, ‘बीचमा धेरै बिदाहरू परेको र छानबिनका क्रममा सोचेभन्दा बढी काम गर्नु परेका कारण एक सातामा काम सकिएन ।’ करिब एक साता थप समय चाहिने भएकाले सो समय माग गरिएको उनले बताए । अहिले पनि समितिले बयान लिने काम गरिरहेको शाहले जानकारी दिए ।

चैत २६ गतेबाट काम सुरु गरेको समितिले उत्तरपुस्तिका पुनर्योग तथा संपरीक्षणको काम सकेर विद्यालयहरूलाई नयाँ रिजल्ट पनि उपलब्ध गराइसकेको छ । पुनर्योग तथा संपरीक्षणबाट दर्जनौँ विद्यार्थी पास भएको पनि नगर प्रमुख आचार्यले जानकारी दिए ।

नगर प्रमुख आचार्य समितिले निष्पक्ष छानबिन गर्ने कुरामा विश्वस्त छन् । ‘निष्पक्ष छानबिन हुने कुरामा कुनै शंका छैन,’ उनले भने, ‘मैले त समितिका साथीहरूलाई स्पष्ट भनिदिएको छु, निष्पक्ष छानबिन भएन भने भोलि तपाईंहरू पनि कारबाहीका लागि तयार भएर बस्नोस् । यसमा दोषी कोही पनि उम्कन पाउनेवाला छैन ।’

कतिपयले समिति निर्माणमै पक्षपात गरिएकाले सो समितिले गर्ने छानबिनप्रति पनि असन्तुष्टि जनाइरहेका बेला नगर प्रमुख आचार्य भने राजनीतिक आग्रहका कारण समितिको विरोध गरिएको ठान्छन् । उनी भन्छन्– ‘यसमा कसैले राजनीति गर्नुपर्ने जरुरी छैन । समितिले निष्पक्ष छानबिन गरेन भने समिति पनि कारबाहीको भागीदार हुन्छ ।’ समितिले निष्पक्ष छानबिन नगरे माथिल्ला न्यायिक निकायहरूबाट छानबिन गरेर भए पनि सत्यतथ्य बाहिर ल्याइने उनले बताए ।

समिति संयोजक शाह आफूहरूले छानबिनमा कुनै कसर बाँकी नराखेको दाबी गर्छन् । उनले निष्पक्ष छानबिन गरेर सत्यतथ्य सार्वजनिक गर्ने दाबी गरे । शाह संयोजक रहेको समितिमा ग्रिनपिस एकेडेमीका संस्थापक बीएल भारती, शिक्षक महासंघ कोहलपुर नगर अध्यक्ष रामप्रसाद चापागाईं, कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापा र ज्ञानज्योति माध्यमिक विद्यालयकी प्रधानाध्यापक सुमित्रा न्यौपाने सदस्य रहेका छन् ।

प्रकाशित मितिः मङ्लबार, बैशाख ४, २०८१     7:52:35 AM  |