29 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

नैनीतालमा जीप दुर्घटना हुँदा बैजनाथको एउटै वडा ६ सहित ७ नेपालीको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र २८, २०८०  

भारत उत्तराखण्डको नैनीताल जिल्लामा भएको जीप दुर्घटनामा परेर बाँके बैजनाथ गाउँपालिका– ८ का ६ जनाको मृत्यु भएको छ भने अन्य २ जना गम्भीर घाइते भएका छन् । सोही दुर्घटनामा परेर बाँसगढी नगरपालिका–१ चेपाङका १ जनाको समेत मृत्यु भएको छ ।

बाँके ।

भारत उत्तराखण्डको नैनीताल जिल्लाअन्तर्गत बेतालघाट क्षेत्रमा भएको जीप दुर्घटनामा परी बाँके बैजनाथ गाउँपालिकाको एउटै वडाका ६ जनाको मृत्यु भएको छ । सोमबार राति भएको जीप दुर्घटनामा बैजनाथ गाउँपालिका वडा नम्बर ८ का ६ जनासहित ७ नेपालीको ज्यान गएको हो ।

युके ०४ सीसी ०४९५ नम्बरको बोलेरो जीप दुर्घटनामा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको भारत बेतालघाट थानाका इन्चार्ज अनिस अहमदले जानकारी दिए । मृत्यु भएका ७ जना नेपालीहरू रोजगारीका लागि नैनीताल जिल्लाअन्तर्गत बेतालघाट क्षेत्रमा पुगेका थिए ।

मृत्यु हुनेमा बैजनाथ गाउँपालिका–८ फत्तेपुर गाउँका ४५ वर्षीय धिरज थारू, ५५ वर्षीय उदयराज थारू र ५० वर्षीय विसराम थारू रहेको बैजनाथ गाउँपालिका–८ का वडाध्यक्ष भगन थारूले जानकारी दिए ।

त्यस्तै सोही वडाकै रिहापुर गाउँका ५१ वर्षीय तिलकराम थारू तथा थपुवा गाउँका ४२ वर्षीय अतराम थारू र ४२ वर्षीय विनोद थारू रहेको समेत मृत्यु भएको उनले बताए ।

‘उता (भारत) बाट नाम आउँदा केही फरक परेर आएको थियो,’ उनले मंगलबार राति मिसन टुडेसँग भने, ‘यता गाउँमा गएर बुझ्दा ६ जनाको मृत्यु भएको पुष्टि भयो ।’

उक्त जीप दुर्घटनामा सोही ठाउँकै २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा मृतक धिरजकी पत्नी शान्ति थारू र थपुवाका दशरत थारू रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।

‘भारतीय पक्षसँग बुझ्दा बैजनाथका ६ जनाको मृत्यु भएको खुलेको छ,’ उनले मिसन टुडेसँग भने, ‘बैजनाथकै अन्य २ जना घाइते हुनुहुन्छ ।’ दुर्घटनाबारे हामीले भारतीय प्रहरीसँग थप कुरा बुझिरहेका छौँ ।

दुर्घटनामा परेर बर्दिया बाँसगढी नगरपालिका–१ चेपाङका ६० वर्षीय टोपबहादुर बस्नेतको समेत मृत्यु भएको वडा सदस्य गोपाल जैसीले मिसन टुडेलाई जानकारी दिए ।

‘घर आउँदै गर्दा जीप दुर्घटनामा परेर टोपबहादुरजीको मृत्यु भएको पुुष्टि भएपछि आफन्तहरू नैनीताल गइसक्नुभएको छ,’ उनले मंगलबार राति टेलिफोनमा भने, ‘उहाँहरू रातिसम्म नैनीताल पुग्नुहोला । त्यहाँ पुगेपछि शवलाई घरमा ल्याउने नल्याउनेबारे थाहा हुन्छ ।’

दुर्घटना भएको जीपमा सवार चेपाङकै अन्य २ जना भने हाम फालेर बाँच्न सफल भएको उनले बताए । उनका अनुसार हाम फालेर बाँच्न सफल हुनेमा हिरे बुढा र हर्कबहादुर दमाई रहेका छन् ।

‘उहाँहरू दुवैसँग मैले फोनमा कुराकानी गरेको थिएँ । स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो,’ वडा सदस्य जैसीले मिसन टुडेसँग भने, ‘नास्ता खाएर हिँड्ने बेला उहाँहरू सवार जीप आफैं १ सय मिटरजति गुडेर दुर्घटनामा परेको रहेछ । अगाडि सीटमा बस्नुभएका दुबै जना हाम फालेर बाँच्न सफल हुनुभएछ ।’

नैनीतालमा कमाएर नयाँ वर्ष र चैते दसैँ मनाउन घर फर्किरहेकाहरूको जीप दुर्घटनामा मृत्यु भएपछि नेपालका ४ वटा गाउँहरू शोकमा डुबेका छन् । ‘कमाएर घर फर्किरहेकाहरूको बाटोमै दुर्घटनामा परेर मृत्यु भएको खबर पाएपछि गाउँ नै शोकमा डुबेको छ,’ बैजनाथ गाउँपालिका– ८ वडाध्यक्ष भगन थारूले भने, ‘फत्तेपुर, रिहारपुर र थपुवा गाउँसहित सिङ्गो वडामा नै सन्नाटा छाएको छ ।’

मृतक र घाइतेका आफन्तहरू मंगलबार साँझ भारतको नैनीताल गइसकेको उनले जानकारी दिए । आफन्तहरू नैनीताल पुगेपछि थप जानकारी आउने वडाध्यक्ष भगनले बताए ।

कोहलपुर–सुर्खेत सडक खण्डमा पर्ने चेपाङ गाउँसमेत शोकमा डुबेको छ । चैते दसैँ र नयाँ वर्ष मनाउन घर आउँदै गरेका बस्नेतको सोही दुर्घटनामा मृत्यु भएको खबर पाएसँगै चेपाङ गाउँ शोकमा डुबेको हो ।

‘उहाँको मृत्युको खबर आएसँगै चेपाङ गाउँ शोकमा डुबेको छ,’ वडा सदस्य जैसीले भने, ‘केही आफन्त नैनीताल गइसक्नुभएको छ । घरमा रुवाबासी चलिरहेको छ । गाउँ नै शोकमा छ ।’

दुर्घटनामा जीपका चालक भारत उच्चकोट दोलालघाटका ४० वर्षीय रमेश चन्द्रको समेत मृत्यु भएको प्रहरीले जनाएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

मृतक सबैको शवलाई नैनीतालस्थित सरकारी अस्पतालमा राखिएको छ । बेताघाट नजिकैबाट नेपालीहरू सवार गाडी नदीमा खसेको समाचार टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले छापेको छ । गाडी अनियन्त्रित भई सडकबाट १५० फिट तल खसेको थियो ।

भारतीय प्रहरीका अनुसार नेपालीहरू दुर्घटना भएको बेतालघाट भन्दा १८ किलोमिटर पूर्वी क्षेत्रमा मल्लागाउँ उच्चाकोटमा रहेको खानेपानी आयोजनामा पाइप बिछ्याउने काम गर्दथे । त्यहाँबाट नेपाली कामदारहरू सोमबार साँझ घरतर्फ हिँडेका थिए ।

सोमबार बिहान खानेपानी आयोजनाको काम सकिएपछि उनीहरू सबै घर आउनका लागि गाडी बुक गरेर हल्द्वानीका लागि हिँडेका थिए । सोही क्रममा उनीहरू सवार जीप दुर्घटनामा परेको थियो ।

प्रकाशित मितिः बुधबार, चैत्र २८, २०८०     12:45:12 PM  |