मिसन संवाददाता
कोहलपुर, १७ चैत
मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा कोहलपुरमा सञ्चालित बागेश्वरी बहुमुखी क्याम्पसका प्राध्यापकहरूले विश्वविद्यालयको आठौँ सिनेटले पास गरेको नियमावलीका नियमहरू लागू गर्न माग गरेका छन् ।
सिनेटले पास गरेका नियमसमेत लागू नहुँदा क्याम्पसमा अध्यापनरत प्राध्यापकहरूको सरुवा, बढुवा र वृत्ति विकासमा असर परेको भन्दै तत्काल पारित भइसकेका नियम लागू गर्न माग गरिएको छ ।
वागेश्वरी बहुमुखी क्याम्पस प्राध्यापक संघले एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयको आंगिक क्याम्पस कोहलपुर समायोजन भएको ६ वर्ष पुगिसक्दा पनि प्राध्यापकहरूका माग सम्बोधन हुन नसकेको गुनासो गरेका छन् । पटकपटक मौखिक आश्वासन मात्र दिइने गरेको तर कार्यान्वयन नभएको भन्दै विज्ञप्तिमा तत्काल नियम कार्यान्वयनको माग गरिएको छ ।
संघका सभापति राजकुमार चन्दद्वारा जारी विज्ञप्तिमा आगामी दिनमा बस्ने विश्वविद्यालयको सिनेटले लोड पुगेका आंशिक प्राध्यापकहरूलाई करार, समायोजनका समयमा अस्थायीमा रहेका र अन्य करार प्राध्यापकहरूलाई विशेष आन्तरिकबाट स्थायी र घटुवामा परेका प्राध्यापकहरूलाई सोही पदमा पुनर्बहाली गर्न माग गरिएको छ । त्यसैगरी समय पुगेका प्राध्यापकहरूलाई बढुवा प्रक्रियामा लैजाने गरी सम्बोधन गर्न पनि प्राध्यापकहरूले विश्वविद्यालयको ध्यानाकर्षण गराएका छन् ।
आफूहरूका मागप्रति गम्भीर हुन आग्रह गर्दै यदि नजर अन्दाज गरिए सिनेटपछि कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत प्राध्यापकहरूले दिएका छन् ।