13 June 2024  |   शुक्रबार, असार १, २०८१

लागूऔषध न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र १, २०८०  

कोहलपुर ।
कोहलपुर नगरपालिका–१ ले लागूऔषध दुव्र्यसनी तथा मदिरा सेवन न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद विश्वकर्माको प्रमुख अतिथ्यमा कौशिलागरस्थित सामुदायिक भवनमा बुधबार कार्यक्रम सम्पन्न भएको हो ।

पछिल्लो समय मौलाउँदै गएको लागूऔषध दुव्र्यसनी तथा मदिरा सेवन नियन्त्रण गर्न व्यक्ति स्वयम् अग्रसर र प्रतिबद्ध हुनुपर्ने सहभागीहरूले बताएका थिए । बालबालिका साथीसंगातीका कारण यस्ता दुव्र्यसनमा फस्ने गरेको उनीहरूको भनाइ थियो ।समिति अध्यक्ष विश्वकर्माले लागूऔषध दुव्र्यसनका कारण कतिले अकालमा ज्यान गुमाउनु परेको जनाउँदै यसलाई नियन्त्रण गर्न कोहलपुर नगरपालिका–१ ले गरेको कार्य प्रशंसनीय रहेको बताए ।

लागूऔषधका कारण कतिपयका घरबारसमेत बिग्रेको वडाध्यक्ष बद्रीप्रसाद जैशीले बताए । ‘लागूऔषध तथा मदिरा सेवनले कतिजना घरबारविहीन समेत भएको हामीले आफ्नै आँखाले देखेका छौँ,’ उनले भने, ‘यसलाई रोक्न केही मात्रामा भए पनि सहयोग पुगोस् भनेर वडा कार्यालयले कार्यक्रम आयोजना गरेको हो ।’

‘लागूऔषध दुव्र्यसनी मानव जीवनको नरसंहार, समुन्नत समाज र समृद्ध राष्ट्रका लागि सबै मिली गरौँ बहिष्कार’ भन्ने मूल नाराका कार्यक्रम गरिएको थियो । सो अवसरमा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक डिएसपी सुन्दर तिवारीले प्रशिक्षणसमेत दिएका थिए । उनले लागूऔषधका दुव्र्यसनी तथा मदिरा सेवनबाट बच्नुपर्ने बताए ।

अभिभावकले पनि आफ्ना बालबालिकालाई सुर्ती,चुरोट जस्ता बस्तु किन्न नपठाउन उनले अनुरोध गरे ।अहिले पनि दुर्घटना तथा मृत्युको प्रमुख कारण लागूऔषध दुव्र्यसनी रहेको उनले जानकारी दिए । गलत संगत र अभिभावकको गैरजिम्मेवारीकै कारण किशोर किशोरी कुलतमा फस्ने गरेको उनले बताए ।

लागूऔषध दुव्र्यसनी र मदिरा सेवनमुक्त समाज बनाउन विद्यार्थी, अभिभावक, शिक्षक, राजनीतिक दललगायत सबै नागरिकहरूको उत्तिकै दायित्व रहने उनको भनाइ छ । त्यस्तै, समाज सेवा संस्था नेपालका विनोद थापाले पनि कृष्ण माविमा अध्ययनरत विद्यार्थी तथा अभिभावकहरूलाई प्रशिक्षण दिएका थिए ।

प्रकाशित मितिः बिहिबार, चैत्र १, २०८०     9:29:59 AM  |