नेपालगन्ज ।
राप्ती सोनारी–५, चाचरखर्कमा ३२ वर्षीया तारा ओलीले आफ्नै खर्चमा असहाय बालबालिकाको पालनपोषण गरिरहेकी छन् । गाउँकै अभिभावकविहीन १३ जना बालबालिकाको भरपोषणसँगै उनीहरूको पढाइको जिम्मेवारी पनि आफ्नै काँधमा उठाएकी छन् । ताराले २०७७ सालबाट गाउँमै जयबागेश्वरी असहाय बालसंरक्षण गृह सञ्चालनमा ल्याएकी हुन् । त्यतिबेला उनको बालसंरक्षण गृहमा पाँच जना बालबालिका थिए । अहिले संख्या बढदै छ ।
‘गाउँमा बुबा आमा नभएका बालबालिकाको दुःख देख्न नसकेर बालसंरक्षण गृह खोले,’ ताराले मिसन टुडेसँगको कुराकानीमा भनिन् । गाउँमा कसैका बाबुआमा नै नभएका र भए पनि बेपत्ता रहेका बालबालिका भेटेपछि उनीहरूको भविष्य बनाउनुपर्छ भन्ने लागेर बालसुधार गृह बनाउन लागिपरेको ओली बताउँछिन् । अहिले आफ्नै घरमा ती बालबालिकालाई ताराले संरक्षण गरिरहेकी छन् । उनी भन्छिन्, ‘ती बालबालिकाको सुन्दर भविष्यका लागि मैले यो काम सुरु गरेँ ।’
उनको बालसंरक्षण गृहमा रहेका बालबालिका कोही सामुदायिक विद्यालयमा पढ्छन् भने कोही निजी विद्यालय पढ्दै आएका छन् । एक जना त यसपटक एसइई दिने तयारीमा छन् । ‘अब उनलाई उच्चशिक्षा पढाउने धोको छ,’ ताराले भनिन्, ‘यिनीहरूको भविष्य निर्माण मेरो लक्ष्य हो।’आफ्नै घरमा बालसंरक्षण गृह सञ्चालन गरिरहेका कारण उनलाई अप्ठेरो भइरहेको छ ।
त्यसैले तारा नयाँ संरचना तयारीमा लागेकी छन् । नयाँ संरचनाका लागि आवश्यक सहयोग जुटाउन लागेको ताराले बताइन् । गाउँमा रहेका असहाय बालबालिकाको संरक्षणका लागि गाउँमै ताराले सुरु गरेको अभियान आफैँमा उदाहरणीय छ । सहरका बालबालिका संरक्षणका लागि खुलेका विभिन्न संघसंस्थामा सहयोग जुटे पनि गाउँमा त्यस्तो वातावरण नभएका कारण समस्या भइरहेको ताराको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्