पुनः ट्रायलको रसिद काटेको दुई महिना भइसक्दासमेत ट्रायल नगर्ने तर लिखितको रिजल्ट मात्रै निकाल्ने गरेको भन्दै सेवाग्राहीले असन्तुष्टि पोखेका छन् ।
तिलक गाउँले । नेपालगन्ज ।
यातायात व्यवस्था कार्यालय बाँकेले फागुन १६ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक ग¥यो । आफ्नो ‘फेसबुक एकाउन्ट’मा उक्त नतिजा सार्वजनिक गरेको यातायातलाई खेममान विष्टले प्रश्न गरेका छन््, ‘लिखितको रिजल्ट मात्रै सार्वजनिक हुने, ट्रायलको नतिजा कुन कुनामा हुन्छ ?’त्यस्तै प्रश्न गर्दै चन्द्र साउद सोध्छन्, ‘माघ २४ गतेको ट्रायलको रिजल्ट कहिले आउँछ ।’ खड्गसिंह बुढा मगरको बेग्लै प्रश्न छ ।
पुनः ट्रायलको रसिद काटेको दुई महिना भइसक्दासमेत ट्रायल नगर्ने तर लिखितको रिजल्ट मात्रै निकाल्ने भन्दै मगरले असन्तुष्टि पोखेका छन् ।
नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने यातायात व्यवस्था कार्यालय बाँकेको सेवा प्रवाहका विषयमा यस्ता असंख्यक प्रश्नहरू सामाजिक सञ्जालमार्फत उठ्ने गरेका छन् । आफ्ना गुनासा सुनाउने सबैभन्दा प्रभावकारी उपायका रूपमा सामाजिक सञ्जाललाई सेवाग्राहीले लिइरहेका छन् । उनीहरूले यातायात कार्यालयले प्रवाह गर्ने सेवाको प्रभावकारिताका विषयमा सवाल उठाउँछन् तर जवाफ पाउँदैनन् । यातायात कार्यालयले नागरिकका प्रश्नको जवाफ दिन उपयुक्त ठानेको छैन ।
चार दिनअघि यातायात कार्यालयले हालेको लिखित परीक्षाको नतिजा सूचनामा आइतबार ४ बजेसम्म २२ जनाले कमेन्ट गरेका छन् । त्यसमा अधिकांशले ट्राइलका विषयमा प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा सोधिने व्यक्तिपिच्छेका प्रश्नको जवाफ दिन नसकिएकाले तर गम्भीर प्रश्नको जवाफ एकमुष्ट रूपमा दिने अभ्याससमेत भएको पाइएको छैन । बाँके जिल्लामै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल स्वयम्ले प्रशासनसँग सम्बन्धित हरेक प्रश्नको जबाफ दिने गरी अभ्यास सुरु गरिरहेका बेला अन्य कार्यालयहरूले त्यस्तो सुरु गर्न सकेका छैनन् ।
त्यसैमा पर्छ यातायात कार्यालय पनि । यातायात कार्यालय सबैभन्दा धेरै सेवाग्राही आउने कार्यालयमा पर्छ । तर यसले प्रदान गर्ने सेवाका विषयमा सधैँ प्रश्न उठ्ने गरेको छ । सबैभन्दा धेरै राजस्व उठाउने र सबैभन्दा धेरै सेवाग्राहीले सेवा लिने यातायात कार्यालय नेपालगन्जको न आफ्नै भवन छ न त जग्गा नै । जबकि यही कार्यालयले २०८० पुस मसान्तसम्म विभिन्न शीर्षकमा ३६ करोड रुपैयाँ राजस्व उठाएको छ । बाँकेमा संघीय कार्यालय समेतलाई जोड्दा पनि नेपालगन्ज भन्सार कार्यालयपछि सबैभन्दा धेरै राजस्व उठाउने कार्यालयमा यातायात दोस्रो नम्बरमा छ ।
यातायातमा दैनिक ५ सयभन्दा बढी सेवाग्राही सेवा लिन आउँछन् । स्थायी भवन नहुँदा यो कार्यालय ‘बिरालाले छाउरा सारे’झैँ कहिले सहरको कुन कुनामा त कहिले कुन कुनामा सरिरहन्छ । त्यसरी कार्यालय सार्दा सेवाग्राहीले झेल्ने दुःख त बयान गरिसाध्य छैन भने कर्मचारी स्वयम् हैरान छन् । एक वर्षअघि यातायात कार्यालय फेरि पनि अस्थायी भाडाकै भवनमा कारँकादोबाट बाँकेगाउँमा सरेको छ ।
‘यहाँ सरेको एक वर्ष पुगेको छ,’ कार्यालय प्रमुख माधव ज्ञवालीले भने । पूर्वाधारका हिसाबले बेवारिसे अवस्थामा रहेको र जनतासँग प्रत्यक्ष जोडिएको यो कार्यालय नेपालगन्जमै आधा दर्जन ठाउँमा सरिसकेको छ । धेरै वर्षसम्म नेपालगन्ज कोहलपुर सडकखण्डअन्तर्गत पर्ने काँरकादोस्थित भाडाको भवनबाट सेवा प्रवाह गरिरहेको यातायात कार्यालयले गत वर्ष माघ महिनादेखि नेपालगन्ज ९ स्थित बाँकेगाउँमा भाडाकै भवनबाट नियमित सेवा दिन थालेको थियो ।
त्यहाँबाट सेवा दिँदै गर्दा अहिले भने ट्रायल र लाइसेन्स वितरण रोकिएको छ । कहिले खुल्छ भन्ने टुंगो छैन । जसका कारण सयौँ सेवाग्राही प्रभावित भएका छन् । यातायात व्यवस्था कार्यालय बाँकेका सूचना अधिकारी मोहन घर्ती मगरले केन्द्रीय तहबाटै यसो भएको बताउँछन् । उनले अन्य ठाउँमा पनि यी सेवा रोकिएको बताए ।
प्रतिक्रिया दिनुहोस्