नेपालगन्ज–१८ का वीरबहादुर हमालले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको जागिर छाडेर गड्यौँलाबाट जैविक मल उत्पादन गरिहेका छन् । पश्चिम नेपालमा सम्भवतः धेरै र व्यवस्थित तरिकाले गड्याँैलाबाट जैविक मल उत्पादन गर्ने हमाल एक्ला व्यक्ति हुन् ।
नेपालगन्ज ।
मलको अभाव झेल्दै आएको बाँके जिल्लामा मल अभाव टार्न गड्यौँलाबाट मलको उत्पादन भइरहेको छ । कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार आवश्यक परेको बेला रासायनिक मल नपाउने, पाए पनि पर्याप्त नहुने र त्यसले माटोको उत्पादकत्व क्षमतामा प्रतिकूल प्रभाव पारेको भन्दै जिल्लाका किसानहरू गड्यौँला मलप्रति आकर्षित भएका हुन् ।
नेपालगन्ज–१८ का वीरबहादुर हमालले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको जागिर छाडेर गड्यौँलाबाट जैविक मल उत्पादन गरिहेका छन् । पश्चिम नेपालमा सम्भवतः धेरै र व्यवस्थित तरिकाले गड्याँैलाबाट जैविक मल उत्पादन गर्ने हमाल एक्ला व्यक्ति हुन् ।
आफूले उत्पादन गर्ने मात्रै नभई जैविक मल उत्पादन गर्न रुचि राख्नेलाई पनि उनले सघाइरहेका छन् । एक दशक युएनडिपीसहित आधा दर्जन राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्दागर्दै जैविक मल उत्पादनमा सक्रिय हमाल भन्छन्, ‘अहिले किसानहरू यसतर्फ आकर्षित भएका छन् ।’
कृषि ज्ञान केन्द्र नेपालगन्जका सूचना अधिकारी जीवन केसीले सुरुमा परीक्षणका लागि सीमित किसानलाई गड्यौलाबाट मल उत्पादनका लागि सहयोग गरेको जानकारी दिँदै परीक्षण सफल हुँदै गएकाले अब यसलाई बढाउँदै लागिने बताए ।
उनले, ‘यो मलले राम्रो काम गर्दै गएमा कार्यक्रम विस्तार गर्ने योजना रहेको छ, बढीभन्दा बढी उत्पादन गरेर वैकल्पिक मलको रूपमा प्रयोग गरिनेछ ।’
प्रमुख खाँले यसबाट उत्पादकत्व वृद्धि गर्ने र रासायनिक मलको मागसमेत घटने विश्वास रहेको जनाउँदै अबको खेती प्रणालीमा यसको प्रयोग आवश्यक भएको बताए । सो मल उत्पादनका लागि केन्द्रले चालू आर्थिक वर्षदेखि सात लाख रुपैयाँ लगानी गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
साकार कृषि सहकारीका कृषि प्रमुख बलबहादुर सुनारले गड्यौँलाबाट मल उत्पादन र त्यसको प्रयोगबाट किसानले लाभ प्राप्त गरे कृषि उत्पादनमा परिणाम राम्रो आउने बताए । उनले भने, ‘गड्यौँलाबाट उत्पादित मलको प्रयोग गर्दा रासायनिक मलको माग घट्ने र माटोको उर्वराशक्ति बढेर उत्पादकत्वसमेत वृद्धि हुनेछ ।’
कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिका २५, खजुरा गाउँपालिकाका ६ र नेपालगन्ज उपमहानगरपालिकाका किसानलाई गड्यौँलाबाट मल उत्पादनको तालिम दिएर प्रेरित गरिरहेको जानकारी दिए ।
कृषि ज्ञान केन्द्रका अनुसार सुरुवातमा मल उत्पादन कार्यमा बाँकेका करिब ५२ किसान संलग्न छन् । केन्द्रले प्रतिकिसान चार किलोग्रामका दरले गड्यौँला दिएको र एक किसानबाट ५० किलोसम्म मल उत्पादनको अपेक्षा लिएको जनाएको छ ।
राप्ती सोनारीका किसान नरेश कार्कीले विश्वासका आधारमा गड्यौँलाबाट मल उत्पादन गर्न थालेको बताए । उनले उत्पादन र प्रयोगपछि प्राप्त परिणामले यसको प्रभावकारिता र सोहीबमोजिम अगाडिको योजना बनाइने बताए । केन्द्रले मल उत्पादनका लागि किसानलाई गड्यौँलाबाहेक, प्लास्टिकका भाँडालगायत कृषि औजार पनि प्रदान गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्