स्वावलम्बन लघुवित्तद्वारा दुईदिने साक्षरता



कोहलपुर ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कोहलपुरले दुईदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कोहलपुर नगरपालिका–५ का वडाध्यक्ष दिपेन्द्र श्रेष्ठको प्रमुख आथित्यमा वित्तीय साक्षरता तथा अन्तक्र्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । उद्घाटन भने बिहीबार कोहलपुर नगरपालिका–११ की अध्यक्ष कल्पना शर्माले गरेकी थिइन् ।

सो अवसरमा बोल्दै वडाध्यक्ष श्रेष्ठले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले महिलाहरूलाई उद्यमी तथा आर्थिक रूपमा सक्षम बनाउन सफल भएको बताए । नेपाल राष्ट्रिय बैंकबाट ‘घ’ वर्गको इजाजत पत्र प्राप्त गरेको राष्ट्रिय स्तरको संस्थासँग कोहलपुरका महिलाहरू जोडिन पाउनु आफैँमा खुसीको कुरा भएको उनको भनाइ थियो ।

पछिल्लो समय केही सहकारी संस्थाका कारण स्वावलम्बन लघुवित्त वित्तीय संस्थाजस्ता उदाहरणीय संघसंस्थाहरूमा समेत नराम्रो असर परेको उनले बताए । त्यसैले सामाजिक सञ्जालको झुटो भ्रममा नपरी स्वयम् आफैँले परीक्षण गरेर यस्ता संस्थामा लगानी गर्न आग्रह गरे ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले बिनाधितो कर्जा, बचत गर्ने बानीको विकास र गरिब केन्द्रित घरदैलो सेवा प्रदान गर्दै आएको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कोहलपुरका प्रमुख भीमसेन चौधरीले बताए ।

घरघरमा उद्यम फैलाऊँ, गरिबीलाई शून्य बनाऊँ, स्वच्छ लघुवित्त हाम्रो अभियान भन्ने मूल नाराका साथ संस्था अघि बढेको उनको भनाइ छ । अहिले ६१ वटा जिल्लामा कार्यक्षेत्र र संस्थाका १ सय ४५ वटा शाखा उपशाखा रहेको उनले जानकारी दिए ।कोहलपुर शाखा कार्यालयको कार्यक्षेत्र कोहलपुर, राप्ती सोनारी, बैजनाथ र बर्दिया रहेको कोहलपुर शाखा फिल्ड सहायक रिशिम शाहीले बताए ।

वित्तीय साक्षरता कार्यक्रम राख्नुको मुख्य उद्देश्य बचत, कर्जा, सावाँ ब्याज मात्रै नभई अन्य दैनिक जीवनमा आवश्यक पर्ने वित्तीय कारोबार सञ्चालन गर्न स्पष्ट पार्ने उनले बताए । कार्यक्रममा पहिलो दिन ५४ जना महिलाहरूको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको थियो भने दोस्रो दिन ५६ जना महिलाहरूको उपस्थितमा रहेको थियो । सो अवसरमा उपस्थित अथितिहरूलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।

 

प्रकाशित मिति : २०८० फागुन १२ गते शनिबार