27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

तुहियो चक्रपथको सपना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन ८, २०८०  

नेपालगन्ज ।
नेपालगन्जको बढ्दो सवारी चाप व्यवस्थित गर्न अघि बढाइएको चक्रपथ योजना अलपत्र परेको छ । सिक्टा सिँचाइको नहर प्रमुख बाधक रहँदा अलपत्र परेको उक्त योजना निर्माणमा अहिले कसैले पनि चासो देखाएका छैनन् । सर्भे भएको चक्रपथ जमिनको अभाव र सिक्टाको नहरका कारण बन्न नसक्दा नेपालगन्जबासीको चक्रपथमा गाडी गुडाउने सपना अधुरै रहेको छ ।

चक्रपथ निर्माणका लागि २०७१ सालमा पहिलो पटक सरकारले २ करोड २० लाख बजेट विनियोजन गरेको थियो । बढ्दो जनसंख्यालाई ध्यान दिएर नेपालगन्जमा चक्रपथ बनाउने योजनालाई रातो किताबमै पार्ने र बजेट छुट्याउने काम भए पनि कार्यान्वयनका लागि अहिलेसम्म पहल भएको छैन ।

उक्त समयमा चक्रपथ निर्माण कार्य कसरी अगाडि बढाउने भन्ने कुराको निक्र्यौल गर्न विभिन्न सरोकारवाला निकायका इन्जिनियर सम्मिलित पाँच सदस्यीय प्राविधिक समितिसमेत गठन गरिएको थियो । उक्त समितिले योजनाको रेखांकनलगायत लागत अनुमानसहितको प्रतिवेदन बुझाएपछि काम तीव्र रूपमा अगाडि बढाउने आश्वासन दिइएको थियो तर, भनिएअनुसार काम भएन ।

नेपालगन्जमा चक्रपथ निर्माणका लागि बजेट विनियोजन गरिए पनि त्यसका लागि राजनीतिक सहमति र प्रतिबद्धतासहितको पहल नदेखिएको नेपालगन्जबासीको गुनासो छ । राजनीतिक दलहरूले तत्परता नदेखाउँदा चक्रपथ निर्माणको योजना तत्काललाई टरेको देखिएको छ ।
स्थानीय, प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा बाँकेका अधिकांश उम्मेदवारले नेपालगन्जमा चक्रपथ निर्माण योजनालाई पूर्णता दिने वाचा गरेका थिए ।

निर्वाचनपछि भने यो विषय ओझेलमा परेको छ । चक्रपथ प्रभावित क्षेत्रका स्थानीय पहल केसीले पूर्वाधार विकासमा ध्यान दिन जरुरी रहेको बताउँछन् । उनी भन्छन्, ‘चक्रपथ बन्ने आशमा यहाँ घरजग्गा बनाएका धेरै छन् तर अहिलेसम्म बन्ने सुरसार छैन ।’

प्रकाशित मितिः मङ्लबार, फाल्गुन ८, २०८०     9:30:13 AM  |