ब्रिज इन्टरनेसनल स्कुलको तेस्रो फाउन्डर कप सम्पन्न



कोहलपुर ।
ब्रिज इन्टरनेसनल स्कुलले तेस्रो फाउन्डर कप तथा स्पोर्ट मिट–२०८० सम्पन्न गरेको छ । सोमबार विद्यालयले विविध कार्यक्रम गरी फाउन्डर दिवस मनाएको हो । लुम्बिनी प्रदेश सांसद दुर्गाप्रसाद चौधरीले पानसमा बत्ती बालेर सो कार्यक्रमको उद्घाटन गरेका थिए । उक्त अवसरमा बोल्दै प्रमुख अथितिसमेत रहेका चौधरीले गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेको बताए ।

सरकारले निजी विद्यालयलाई सही निकास र सहयोग गर्न नसक्नु दुखद पक्ष भएको उनको भनाइ थियो । विद्यालयहरूले घोकन्ते शिक्षा नभई अहिलेको आवश्यकताका आधारमा विद्यार्थीलाई शिक्षा प्रदान गर्नुपर्ने उनले बताए । छोराछोरीलाई असल र नैतिकवान् बनाउन सर्वप्रथम अभिभावक नै बदलिनुपर्ने उनको भनाइ थियो ।

अभिभावकको मन जितेर ८ सयभन्दा धेरै विद्यार्थी अध्ययन गराइरहेको ब्रिज स्कुलले आगामी दिनमा थप विश्वास र भोरासा दिलाउँदै अघि बढ्न शुभकामना दिए ।अनेकौँ बाधा अवरोध पार गर्दै यो स्थानसम्म पु¥याउन र विश्वास गर्ने अभिभावकलाई ब्रिज स्कुलका अध्यक्ष शिवकुमार पौडेलले धन्यवाद व्यक्त गरे ।

आगामी दिनमा विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै अतिरिक्त क्रियाकलापमा जोड दिने उनले प्रतिबद्धता जनाए । अहिलेका अभिभावक सामाजिक सञ्जालमा झुमेर छोराछोरीप्रति गैरजिम्मेवार बन्ने गरेको कोहलपुर इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी सुन्दर तिवारीले बताए । उनले अभिभावकसँग टिकटक हेर्ने समय हुने तर छोराछोरी ठिकठाक छन् कि छैनन् भन्ने हेर्ने समय नहुने गरेको बताए ।

कार्यक्रमका विशेष अथितिसमेत रहेका तिवारीले बालबालिकाको पहिलो पाठशाला घर भएकाले अभिभावकले विशेष ध्यान दिन आग्रह गरे । पछिल्लो समयमा गलत संगतका कारण कुलतमा फस्ने संख्या धेरै रहेकाले अभिभावक सचेत रहनुपर्ने उनले बताए । ब्रिज इन्टरनेसनल स्कुलले केही नयाँ गर्न खोजेको बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका प्रिन्सिपल दानबहादुर हमालले बताए ।

पाठ्यपुस्क मात्रै नभई अब स्कुलले संस्कारसहितको शिक्षा प्रदान गर्नुपर्ने उनले बताए । विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न केही कन्जुस्याइँ नगरेको उनको भनाइ थियोे । ब्रिज स्कुलले नाम जस्तै काम र दक्ष विद्यार्थी उत्पादन गरेको जनविश्वास सहकारी संस्थाका अधिकृत एवम् अभिभावक माधव पोख्रेले बताए ।

विद्यार्थीको चौतर्फी विकासका लागि पाठ्यपुस्तक मात्रै नभई अतिरिक्त क्रियाकलापमा समेत जोड दिइएको उनको भनाइ थियो । सो अवसरमा विद्यार्थीहरूले गरेका प्रस्तुति र प्रदर्शन देखेर अभिभावक भएका नाताले साँच्चिकै ब्रिज स्कुलमा छोराछोरी पढाउन पाउँदा खुसी लागेको उनको भनाइ थियोे ।

गुणस्तरीय शिक्षा र फरक तरिकाका अतिरिक्त क्रियाकलापले बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने नेल्टा लुम्बिनी प्रदेश सहसचिव तथा अभिभावक देवी गुरूङले बताइन् । सो अवसरमा समूहअन्तर्गत सगरमाथा, अन्नपूर्ण, कञ्चनजंघा र माछापुच्छ«े गरी चारवटा समूहले मार्चपास गरेका थिए ।

कक्षागत विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिनुका साथै फाउन्डर कपमा हासिल गरेको पुरस्कारसमेत वितरण गरिएको थियो । अभिभावक, शिक्षकको भलिबल प्रतियोगिता, अभिभावक कुर्चीखेललगायतका प्रतियोगिता सञ्चालन भएका थिए ।

प्रकाशित मिति : २०८० फागुन ८ गते मंगलबार