कोहलपुर ।
पाँचौँ प्रादेशिक औद्योगिक, लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवम् पर्यटन महोत्सव–२०८० सम्पन्न भएको छ । माघ २५ गतेबाट सञ्चालन भएको प्रादेशिक महोत्सव आइतबार सम्पन्न भएको हो । कोहलपुर नगरपालिका प्रमुख मेयर पूर्णप्रसाद आचार्यको प्रमुख आतिथ्य र घरेलु महासंघ कोहलपुरका अध्यक्ष हेमबिक्रम जिसीको सभाध्यक्षतामा पाँचौँ प्रादेशिक महोत्सव सम्पन्न भएको थियो ।
सो अवसरमा बोल्दै कोहलपुर नगरपालिका मेयर आचार्यले कोभिडका कारण महोत्सव सञ्चालन हुन नसके पनि २०६५ सालबाट हरेक वर्षजसो कोहलपुरमा महोत्सव लाग्दै आएको बताए । मेला महोत्सवहरू कोहलपुर नगरपालिकामा सफल हुने र त्यसले गर्दा आयोजकलाई समेत आर्थिक रूपमा सहयोग पुग्ने उनको भनाइ छ । एक वर्ष मेला महोत्सव सञ्चालन गरेको संस्थाले तीन वर्षसम्म मेला महोत्सव सञ्चालन गर्न नपाउने नगरपालिकाले कार्यविधि बनाएको बताए ।
महोत्सव सञ्चालन गर्दा रुष्ट हुने प्रवृत्तिले नगरपालिकाले कार्यविधि बनाएर अघि बढेको जानकारी दिए । विगगका वर्षहरूमा महोत्सव सञ्चालनबाट उठेको आर्थिक स्रोतले घरेलुले आफ्नै भवन बनाउन सफल भएको बताए । यस वर्ष पक्कै पनि महोत्सवबाट आर्जन गरेको रकमले घरेलु सङग्रहालय बनाउने उद्देश्य पूरा हुने विश्वास व्यक्त गरे ।
घरेलु महासंघले आयोजना गरेको प्रादेशिक महोत्सव सफालतापूर्वक सम्पन्न भएको सामाजिक सरोकार मञ्च बाँकेका संयोजक राजेन्द्र श्रष्ठले बताए । यस्ता महोत्सवले स्थानीय उत्पादनको बजारीकरण गर्नुका साथै स्थानीय कालाकाहरूलाई प्रतिभा प्रस्फुटन गर्ने सुनौलो अवसर भएको उनको भनाइ थियो । नेपालमै उत्पादन भएका स्वदेशी उपभोग्य बस्तुहरू उपभोग गरे मात्रै रोजगारी र आर्थिक विकास हुने उनले बताए ।
मेला महोत्सवले मनोरञ्जन मात्रै नभई साना उद्योग तथा उत्पादनहरूलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पनि सहयोग पुग्ने हार्डवेयर व्यवसायी संघका अध्यक्ष कुमार उप्रेतीले बताए । उनले महोत्सव सफालतापूर्वक सम्पन्न गरेकोमा आयोजकलाई धन्यवादसमेत दिए । महोत्सव अवधिभर सञ्चालन गर्दा आएका गुनासा, सुझाव र सिकाइ सबैलाई समेटेर साना उद्योगी र त्यसको विकासका लागि कार्य गर्न बागेश्वरी यातायात प्रालिका अध्यक्ष मनप्रसाद आचार्यले आग्रह गरे ।
महोत्सव लगाउँदा कलाकारहरू ल्याएर नचाउने र रमाउने चलन मात्र नगरी स्थानीय लगानीकर्ता र स्थानीय उत्पादनलाई समेत प्रवद्र्धन हुने गरी मेला महोत्सव गर्न उनले सुझाव दिए । सो अवसरमा बोल्ने वक्ताहरूले नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुले विगतका वर्ष उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरेका थिए । नगरपालिकाले लगाएका बिरुवाहरू क्षति हुन नदिई सुरक्षित रूपमा मेला सम्पन्न भएको भन्दै आयोजकलाई धन्यवाद व्यक्त गरेका थिए ।
घरेलुले लिएको उद्देश्यअनुरूप मेला सफल बनाउन सबैको अथाह साथ रहेको आयोजक एवम् नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरका अध्यक्ष हेमबिक्रम जिसीले बताए । महोत्सवबाट संस्थाले गरेको आर्थिक कारोबारको पारदर्शिता कायम गरिने उनको भनाइ थियो । घरेलु महासंघ कोहलपुरले विगतका वर्षहरूमा पनि आर्थिक पादर्शिता गरेको भन्दै यो वर्ष पनि गर्ने बताए ।
महोतसव सञ्चालन गर्नुको मुख्य उद्देश्य घरेलु सङग्रहालय तथा अनुसन्धान केन्द्र निर्माण गर्नु रहेको उनले जानकारी दिए । स्थानीय उत्पादन, साना तथा मझौला घरेलु उद्योगलाई प्रोत्साहन गरिने उनले बताए । स्थापनाकालदेखि संस्थाले कृषि, उत्पादन र उद्योगाई प्रोत्साहन गर्दै आएको उनको भनाइ छ । नगरपालिकाले विश्वास गरेर खुला मैदान प्रदान गरेकोमा उनले धन्यवाद व्यक्त गरे ।
महोत्सव अवधिभर महोत्सव सफल पार्न सहयोग गर्ने मुख्य प्रायोजक, प्रायोजक, सुरक्षाकर्मी, पत्रकार, राजनीतिक दल, विभिन्न संघसंस्था र कोहलपुरका स्थानीयबासीलाई समेत धन्यवाद व्यक्त गरे । सो अवसरमा प्रायोजक, संघसंस्थालगायतलाई सम्मान गर्नुका साथै मायाको चिनोसमेत प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्