कोहलपुर ।
कोहलपुर नगरपालिका–२ मा अवस्थित गोरखा युनाइटेड पब्लिक स्कुलले शैक्षिक सत्र २०८१ का लागि विद्यालयको शैक्षिक सुधार कार्ययोजना तथा योग शिविर सञ्चालन र शुल्क निर्धारण सम्बन्धमा अभिभावक भेला गरेको छ । विद्यालयले शनिबार एक औपचारिक कार्यक्रमका अभिभावक भेला गरेको हो ।
विद्यालयले आगामी दिनहरूमा शैक्षिक गुणस्तर प्रदान गर्न आवश्यक पर्ने कुरा र शुल्क निर्धारणसम्बन्धी विषयमा अभिभावकहरूसँग छलफल गरेको थियो ।सो भेलालाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले गुणस्तरीय शिक्षा मात्रै नभई अबको आवश्यकता नैतिक र संस्कारसहितको शिक्षा भएको बताए । उनले यी कुरामा जोड दिन पनि विद्यालयलाई आग्रह गरे ।
कोहलपुरको नमुना विद्यालयका रूपमा स्थापित गोरखा युनाइटेडले आगामी दिनमा अझै आफूलाई डिजिटलमैत्री र अब्बल सावित गर्न विद्यालयले गरेका प्रयासहरू सराहनीय रहेको उनको भनाइ थियो । गोरखा स्कुललाई जस्तै अन्य सामुदायिक विद्यालयलाई पनि अगाडि बढाउन आफू आतुर रहेको उनले बताए ।
कार्यक्रममा विद्यालयको कार्ययोजना प्रस्तुत गर्दै प्रधानध्यापक साधना थापाले आउँदो शैक्षिक सत्रदेखि कक्षा १ देखि ३ र कक्षा ९ र १२ मा स्मार्ट बोर्डको माध्यमबाट पठनपाठन गर्ने बताइन् । जसका लागि विद्यालयले शिक्षकहरूलाई आइसिटी तालिम प्रदान गर्ने उनले जानकारी दिइन् ।
विद्यालयलाई यहाँसम्म ल्याइपु¥याउन सहयोग गरेको भन्दै उनले शिक्षकहरूलाई धिन्यवादसमेत दिइन् ।
विद्यालयले दक्ष जनशक्ति उत्पादन गरेर विभिन्न ठाउँमा नाम निकाल्न सफल भएको उनले जानकारी दिइन् । नेपाली, गणित, विज्ञान, अंग्रेजी, सामाजिक पाँचवटा विषयका ल्याबहरू निर्माण गरिनेसमेत उनले बताइन् । सो भेलामा उपस्थित अभिभावकहरूले आफ्ना बालबच्चाहरूलाई स्कुलसम्म पुग्न यातायातको समस्या भएकाले समाधन गर्न आग्रह गरेका थिए ।
होमवर्क मात्रै नभई अब व्यावहारिक र फरक ढंगबाट पठनपाठन गर्नसमेत उनीहरूले आग्रह गरेका थिए । आजभोलि बालबालिका मोबाइलको लतमा समेत परेको भन्दै अभिभावकहरूले चिन्ता व्यक्त गरेका थिए । पाठ्यक्रम, पाठ्यपुस्तक, सिकाइ प्रक्रिया, शिक्षक र विज्ञहरूको सुझाव अनुरूप पञ्चवर्षीय योजना लिएर विद्यालय अघि बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरबहादुर आलेले बताए।
हिजो जस्तो विधिले आजको शिक्षण सिकाइ नचल्ने भएकाले आइसिटी र स्मार्ट बोर्डमार्फत पठनपाठनलाई जोड दिइएको उनको भनाइ थियो । गुणस्तरीय शिक्षा प्रदान गर्न अभिभावकहरूको पनि उत्तिकै भूमिका रहेकाले सबैको साथ सहयोगले केही नयाँ गर्न चाहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्