करिब ५ दिनको समय लगाएर बनाएको अटो चार्ज इलेक्ट्रोनिक बाइकको नामकरण समेत गरेका छन् । त्यसको नाम हो, गोरखा इभी इलेक्ट्रोनिक भेहिकल । आर्थिक अवस्था कमजोर भएका कारण सामग्री किन्ने पैसा नहुँदा अधुरै रहेको सपना अहिले गोरखा पब्लिक स्कुलले आर्थिक र भौतिक साथ दिँदा पूरा भएको उनीहरूको भनाइ छ ।
गणेश रावत । कोहलपुर ।
कोहलपुरस्थित गोरखा युनाइटेड पब्लिक स्कुलमा अध्ययनरत ऋतिक खड्का (तामाङ) र अरूण रानामगरले अटोमेटिक चार्ज हुने इलेक्ट्रोनिक बाइक बनाएका छन् । कक्षा–११ मा विज्ञान संकायमा अध्ययन गरिरहेका ऋतिक र अरूणले ८ किलोमिटरसम्म गुड्ने अटोमेटिक चार्ज हुने इलेक्ट्रोनिक बाइक बनाएका हुन् ।
सानै उमेरदेखि इलेक्ट्रोनिक्समा लगाव राख्ने ऋतिक र अरूणले सो अटो चार्ज हुने इलेक्ट्रोनिक बाइक ११औँ अभिभावक दिवसको अवसर पारेर प्रदर्शनी गरेका थिए । सानैदेखिको रुचि, इच्छा, चाहना र सपनाको एक अंश भए पनि पूरा भएको उनीहरू बताउँछन् । मध्यमवर्गीय परिवारमा जन्मेका ऋतिक र अरूण अहिले १७ वर्षका भए । विज्ञान संकायमा अध्ययनरत उनीहरू पढ्न मात्रै नभई अतिरिक्त क्रिलयाकलापमा पनि अग्रसर देखिने गरेको शिक्षक सम्यम भण्डारीले बताए ।
करिब ५ दिनको समय लगाएर बनाएको अटो चार्ज इलेक्ट्रोनिक बाइकको नामकरण समेत गरेका छन् । त्यसको नाम हो, गोरखा इभी इलेक्ट्रोनिक भेहिकल । आर्थिक अवस्था कमजोर भएका कारण सामग्री किन्ने पैसा नहुँदा अधुरै रहेको सपना अहिले गोरखा पब्लिक स्कुलले आर्थिक र भौतिक साथ दिँदा पूरा भएको उनीहरूको भनाइ छ ।
सानैदेखि बनाउने सपना देखेका उनीहरूले सामग्री किन्न आर्थिक अभाव थियो । ऋतिक र अरुणले सहल्लाह गरे र प्रोजेक्ट बनाएर विद्यालयमा प्रस्ताव गरे । विद्यालयले पनि उनीहरूको प्रस्ताव सहजै स्वीकार गरी हौसला प्रदान गरेको उनीहरूले बताए । ‘बाइक र गाडी बनाउने रहर त धेरै थियो,’ ऋतिकले भने, ‘तर स्रोत संकलन गर्न आर्थिक अवस्था नहुँदा बनाउन सकेका थिएनौँ ।’ शिक्षकसँग सरसल्लाह गरेपछि विद्यालय प्रोजेक्टका लागि सहयोग गर्न तयार भएको उनीहरूले बताए ।
‘विद्यालय परिवारले पनि सहयोग गरेपछि हामी आफ्नो काममा सफल भएका हौँ,’ उनीहरू भन्छन् । सुरुमा प्रस्ताव राख्दा सरहरू पनि अलमलमा परेको उनीहरूको भनाइ छ । तर, सबैले हौसला र साथ दिएपछि २० हजारको लागतमा एक जना मात्रै चढ्न मिल्ने अटोमेटिक चार्ज हुने इलेक्ट्रोनिक बाइक बनाएको उनीहरूले बताए । जसका लागि आवश्यक पर्ने स्रोत र सामग्री किन्न साइकल पसल, इलोक्ट्रोनिक पसल, वल्डिङ सेन्टरसम्म पुगेर सामग्री जुटाएको उनीहरूको अनुभव छ ।
अटोचार्ज इलेक्ट्रोनिक बाइकका लागि साइकलका दुई वटा पांग्रा, कार्टुनको कभर, लिथियम, मोटर र कन्ट्रोल बक्स पसलबाट किनेर ल्याएको उनीहरूले बताए । अन्य २ वटा १२ भोल्टेजका ब्याट्री, कभर, डिजाइन कलर सबै आफूहरूले निर्माण गरेको मिसन टुडेसँग कुरा गर्दै अरुणले बताए ।
घाम लागेको समयमा सोलारको प्लेटबाट अटोमेटिक ब्याट्रीमा चार्ज हुने र अन्य समयमा विद्युत्बाट पनि चार्ज गर्न सकिने उनीहरूको भनाइ छ । आगामी दिनमा सबैको साथ सहयोग र हौसला पाए इलेक्ट्रोनिक गाडी बनाउने योजना रहेको उनीहरू बताउँछन् । परीक्षणका लागि कोहलपुर बजार घुमाउँदा अटोचार्ज इलेक्ट्रोनिक बाइक हेर्नेहरूको घुइँचो लागेको उनीहरूले जानकारी दिए ।
‘बनाएर सुरुको दिन परीक्षण गर्न नगरपालिकासम्म पुगेका थियौँ,’ ‘ऋतिकले भने, ‘हेर्ने र फोटो खिच्ने मानिसहरूको भीड लागेर बाटोमा निस्कनै गाह्रो भयो ।’ आफ्ना नयाँ सिर्जनाहरूलाई भर्खरै सम्पन्न ११औँ अभिभावक दिवसको अवसरमा उनीहरूले विज्ञान प्रदर्शनीमा राखेका थिए । सो दिन अटोचार्ज इलेक्ट्रोनिक बाइक हेर्ने र चढ्ने अभिभावकहरूको भीड लागेको थियो ।
ऋतिक र अरूले अभिभावकबाट वाहवाही पाएका थिए । एक जना मात्रै चढ्न मिल्ने अटोचार्ज इलेक्ट्रोनिक बाइक चढेर अभिभावकहरू चौरमा कुदाइरहेका थिए । अहिले सो बाइक विद्यालयको विज्ञान प्रयोगशालामा रहेको र अहिले पनि अवलोकन गर्न सकिने विज्ञान प्रर्दशनीका संयोजक श्याम भण्डारीले बताए । विद्यार्थीहरूले एक उदाहरणीय काम गरेर आफू मात्रै नभई विद्यालयको समेत नाम राख्दा खुसी लागेको उनको भनाइ छ ।
गोरखा पब्लिक स्कुलले गुणस्तरीय शिक्षा मात्र नभई अतिरिक्त क्रियाकलापमा समेत जोड दिँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरबहादुर आलेले बताए । ऋतिक र अरुणलाई मात्र नभई इच्छाशक्ति र क्षमता भएका जोसुकै विद्यार्थीहरूलाई विद्यालयले प्रोत्साहन र सहयोग गर्ने उनको भनाइ छ ।
अहिलेको आवश्यकता संस्कारसहितको जीवनोपयोगी शिक्षा प्रदान गर्नु रहेको उनले बताए । त्यसैले गोरखा पब्लिक स्कुलले विद्यार्थीहरूको क्षमता प्रस्फुटन गर्न पाठ्यक्रम मात्र नभई अतिरिक्त क्रियाकलापमा समेत जोड् दिँदै आएको उनले बताए ।
प्रशान्तले निर्माण गरे स्क्यान सेनिटरी प्याड मेसिन
गोरखा पब्लिक स्कुलका कक्षा १० मा अध्यनतर १६ वर्षका प्रशान्त पौडेलले स्क्यान सेनिटरी प्याड प्याकिङ मेसिन बनाएका छन् । सेनिटरी प्याड बोक्न झन्झटबाट मुक्त हुन स्क्यान सेनिटरी प्याड प्याकिङ मेसिन बनाएको उनले बताए । बर्दियाको एउटा गाउँमा जन्मेका प्रशान्त पाँच कक्षाबाट गोरखा पब्लिक स्कुलमा अध्ययन गरिरहेका छन् ।
सानैदेखि आफ्नो गाउँघरमा सेनिटरी प्याडका लागि बजारसम्म पुग्नुपर्ने बाध्यताले उनलाई पिरोलिरहने गथ्र्याे । उनले त्यसका लागि सेनिटरी प्याड स्क्यान मेसिन बनाउने कोसिस गरे । तर, कमजोर आर्थिक अवस्था र सहयोग गर्ने व्यक्ति नहुँदा बनाउन सकेका थिएनन् । गोरखा पब्लिक स्कुल आएपछि उनले मेसिन बनाउने योजना बनाए । तर, समय जुरेको थिएन ।
११औँ अभिभावक दिवसको अवसर पारेर उनले सो मेसिन बनाएका हुन् । प्याड नहुँदा कतिपय छात्रा विद्यालय आउनसमेत वञ्चित हुने गरेको प्रशान्त बताउँछन् । त्यसैलाई मध्यनजर गरी आफूले सो स्क्यान मेसिन बनाएको उनले बताए । एकपटक मेसिनमा ११ वटा प्याड हालेर सार्वजनिक स्थलमा राख्ने हो भने आइडी कार्डमार्फत स्क्यान गरेर प्याड झिक्न मिल्ने उनको भनाइ छ ।
कुनै पनि संघसंस्थासँग सहकार्य गरेर प्याड सो मेसिनमा प्याकिङ गरेर राखिदिए सहजै स्क्यान गरेर प्रयोग गर्न सकिने उनले बताए । सफ्ट सर्भर, निर्माण गरेर कार्डको डेटा इन्ट्री गरेर सहजै झिक्न सकिने उनको भनाइ छ । २ हजारको लागतमा उनले सो मेसिन निर्माण गरेको जानकारी दिए ।
क्यामेराको रिल र गियरको मोटर निकालेर काठको बक्स बनाई सो मेसिन तयार पारेको उनले बताए । सो मेसिनको नाम सेनिटरी प्याड भ्यान्डिङ सिस्टम राखेका छन् । साथै उनले आफैँ गुड्ने सानो गाडीसमेत निर्माण गरेका छन् । जो आफैँ गुड्ने र मानिसहरू देखिए रोकिने गर्छ ।
प्रतिक्रिया दिनुहोस्