आचरण बदल्न प्रहरी कार्यालयमा पुस्तकालय



शिवु खनाल । देउखुरी ।
हिरासत कक्षमा रहेका थुनुवाको समयको सदुपयोगसँगै चेतना वृद्धिमा सहयोग पु¥याउन वडा प्रहरी कार्यालय लमहीमा पुस्तकालय स्थापना गरिएको छ । ज्ञान र चेतना अभिवृद्धि गराउन वडा प्रहरी कार्यालय लमहीमा पुस्तकालय स्थापना गरिएको बताइएको छ । पुस्तकालयसँगै लमहीका विभिन्न संस्थाले एक दर्जनभन्दा बढी पुस्तक सहयोग गरेका छन् ।

प्रहरीले विभिन्न माध्यमबाट थुनुवाका लागि आवश्यक पुस्तक संकलन गर्दै आएको छ । नेपाली कांग्रेस लमही नगर सभापति सन्तोष बुढाथोकीले वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले देखाएको रचनात्मक कार्य प्रशंसनीय रहेको बताए । हिरासत कक्षमा रहेका थुनुवाको ज्ञान र चेतना फैलाउने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएकाले यसको पूर्णरूपमा उपयोग गरिनुपर्ने बताए ।

‘संख्यात्मकभन्दा पनि गुणात्मक किसिमका पुस्तकहरू वितरण गर्न सकिए त्यसले सार्थकता पाउन सक्ने भन्दै उनले अभियानको स्वागत गरे।
‘प्रहरी कार्यालयमा पुस्तकालय स्थापना गर्नु मात्रै होइन, प्रहरी कार्यालयलाई सुधार केन्द्रको रूपमा स्थापना गर्नु पनि जरुरी छ,’ उनले भने, ‘प्रहरी हिरासतमा कुण्ठित भएर बसेका थुनुवा तथा कैदीबन्दीहरूलाई विगतमा आफूले गरेका गल्ती, कमजोरीलाई महसुस गरी आगामी जीवन अनुशासित, मर्यादित बनाउन सहयोग गर्नु यस अभियानको उद्देश्य हुनुपर्छ ।’

यस्तै प्रहरीको यो अभियान समग्र देशकै लागि नमुना भएको नेपाली कांग्रेस वडा नं. ५ का वडा सभापति रवि श्रेष्ठले बताए । ‘अपराधीलाई सजाय दिएर मात्रै सुधार गर्न सकिन्छ भन्ने हाम्रो मानसिकता छ, पहिलो पटक वडा प्रहरी कार्यालय लमहीले यो मान्यतालाई तोड्न शिक्षाको बाटो अपनाएको छ,’ उनले भने, ‘यो पक्कै पनि सजिलो काम होइन तर शिक्षाले नै जीवनको अन्धकार मेटाउने भएकाले प्रहरी हिरासतबाट बाहिर निस्कँदा एक असल नागरिक बनाउन यो अभियानले महत्वपूर्ण योगदान दिनेछ ।’

लमहीको गोरखा सेकेन्डरी मोर्डन विद्यालयलले वडा प्रहरी कार्यालय लमहीलाई शैक्षिक सामग्री सहयोग हस्तान्तरण गरेको छ । प्रहरी कार्यालयलाई विद्यालयले साहित्यिक, धार्मिक, सामान्य ज्ञानलगायत बहुउपयोगी पुस्तक सहयोग गरेको हो । ती पुस्तकहरू शुक्रबार कार्यालयपरिसरमै पुगेर वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठलाई विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले हस्तान्तरण गरेका थिए ।

 

प्रकाशित मिति : २०८० फागुन ५ गते शनिबार