23 May 2024  |   बिहिबार, जेष्ठ १०, २०८१

६ महिनामा ११ करोडको इन्धन र ग्यास आयात

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, माघ २९, २०८०  

नेपालगन्ज ।
नेपालगन्ज भन्सार नाकाबाट मात्रै चालु आर्थिक वर्ष २०८०÷८१ पुस मसान्तसम्म ९ अर्ब मूल्यबराबरको डिजेल पेट्रोल र २ अर्ब बढीको ग्यास आयात भएको छ । यो नाका हुँदै आयात हुने प्रमुख बस्तु तथा सामग्रीमा इन्धन र ग्यास पहिलो नम्बरमा रहेका छन् ।

चालु आवको ६ महिनाको अवधिमा ६ अर्ब ३२ करोड ४७ लाख २८ हजार मूल्यबराबरको ५६ हजार ९ सय १२ किलोलिटर डिजेल आयात भएको छ । त्यसैगरी, २ अर्ब ४८ करोड ७६ लाख १२ हजार मूल्यबराबरको २४ हजार ९ सय ४ किलोलिटर पेट्रोल आयात भएको छ ।

एलपी ग्यासको हकमा २ अर्ब १३ करोड ९५ लाख ५० हजार मुल्य बराबरको २२ हजार ४ सय ८७ मेट्रिक टन आयात भएको छ । बर्सेनि अर्बौंको हाराहारीमा इन्धनमै पैसा बिदेसिने गरेको छ । इन्धन र ग्यास आयात गरेबापत नेपालगन्ज भन्सारमार्फत सरकारलाई ३ अर्ब बढी राजस्व प्राप्त भएको छ ।

देशभरमा इन्धन र ग्यास आयात हुने प्रमुख नाकामा नेपालगन्ज पर्ने गरेको छ । यहाँबाट आयात भएको इन्धन र ग्यास नेपाल आयात निगमको डिपोमार्फत पेट्रोलपम्प र ग्यास बिक्रेताले पश्चिम नेपालमा बिक्रीवितरण गर्दै आएका छन् ।

नेपालगन्ज भित्रिएको तेल बाँके, बर्दिया, दाङदेखि कर्णाली प्रदेशमा बिक्रीवितरण हुँदै आए पनि आवश्यकताका आधारमा अन्यत्र पनि जाने गरेको छ ।

प्रकाशित मितिः सोमवार, माघ २९, २०८०     9:29:01 AM  |