सबैको काम सडकमै ! तर हुँदैन समन्वय



नेपालगन्ज ।
खानेपानी, विद्युत्का पोलदेखि अनेकथरी काम सडकमै हुन्छन् । तर यी काम गर्ने निकायबीच कहिल्यै समन्वय हुँदैन । समन्वय अभावमा जथाभावी हुँदा सडकमा देखिने हरिबिजोग र असुविधाले सर्वसाधारण वाक्कदिक्क छन् । शक्तिशाली स्थानीय तहले समेत समन्वयकारी भूमिका निर्वाह नगर्दा सरकारी निकायबीच नै विवाद चर्किंदा छन् ।

नागरिक अगुवा एवम् नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ समन्वय अभावमा जथाभावी काम हुँदा सडकमा जोखिम बढेको बताउँछन् । उनी भन्छन्, ‘सडकलाई जथाभावी छियाछिया पारेर हरिबिजोग बनाउने काम गरिएको छ ।’ उनले सडकमा काम गर्ने निकायबीच समन्वय आवश्यक रहेको बताउँदै भने, ‘समन्वयका लागि स्थानीय सरकारले उर्दी नै जारी गर्नुपर्छ । मनलाग्दी काम गर्न रोक्नुपर्छ।’

आफ्नो क्षेत्रमा हुने विकास निर्माणको काममा समन्वय गर्नुपर्ने स्थानीय पालिका समेतले अरू निकायसँग समन्वय नगर्ने गरेको छ । कतिपय अवस्थामा त आफैँ पीडित भएको भन्दै अदालत जाने चेतावनी दिँदै आएको छ । यसैसँग जोडिएको ज्वलन्त विवाद हो नेपालगन्जमा अदालत क्षेत्र वरपरका रूख कटान । जसमा विद्युत् प्राधिकरणलाई नेपालगन्ज उपमहानगरपालिकाले समन्वय नै नगरी रूख कटान गरेको आरोप लगाएको थियो ।

व्यवस्थापनका नाममा समन्वयबिना नै जथाभावी काटेपछि प्रचलित कानुनबमोजिम कडा कारबाहीका लागि नगर प्रमुख प्रशान्त विष्टले कानुनी उपचार खोजिने बताउँदै प्रहरीलाई निवेदन दिइसकेका थिए । त्यो विवाद थामथुम भएको छ । यो विवादको मुख्य जड भनेकै आपसी समन्वय हो । समन्वय र पूर्व जानकारीमा काम भएको भए विवाद यति ठूलो विषय बन्दैनथ्यो ।

प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगननाथ लामिछानेले अन्य ठाउँमा जस्तै नियमको परिधिभित्रै रहेर नियमित प्रक्रिया अनुसार काम गरिएको बताउँछन् । समन्वयका विषयमा त्यतिबेलै मिसन टुडेसँगको कुराकानीमा उनले भनेका थिए, ‘नियमित रूपमा काम गर्दा हामी आफैँले गर्दै आएका थियौं । अन्य निकायसँग समन्वय नगर्दा पनि काम भइरहेका थिए ।

तर यो विषयले यतिका ठूलो रूप लिन्छ भन्ने कल्पना नै गरिएन ।’ प्रमुख लामिछानेले स्थानीय तहसँग समन्वय नगर्ने भन्ने सवाल नै नआउने बताए । उनले भने, ‘स्थानीय तहसँग समन्वय नै नगर्ने भन्ने कुरै आउँदैन । सधैँ समन्वय गर्न तयार छौं ।’विद्युत् प्राधिकरणले समेत हाइमास्ट लाइट जडान गर्ने क्रममा उपमहानगरपालिकाले समन्वय नगरेको गुनासो गर्दै आएको छ ।

कति हाइमास्ट आवश्यक पर्ने हो र त्यसको उपयोगिता के हुने भन्ने विषयमा समन्वय गर्नुपर्ने भए पनि नगरिएको प्राधिकरणले दुःखेसो पोख्दै आएको छ । यस्तै पछिल्लो पटक नेपालगन्ज ट्राफिक लाइट जडानका लागि जथाभावी सडक खन्ने काम भइरहेको छ । त्यसप्रति जनस्तरबाट तीव्र आक्रोस व्यक्त भइरहेको नागरिक समाजका अगुवा श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘हरेक दिन सडक खन्ने काम जसरी भइरहेको छ, यस्तो काम हुनुहुँदैन ।’

नेपालगन्ज उपमहानगरपालिकाभित्रका सडकमा कहिले खानेपानी त कहिले टेलिकमका काम भइरहेका हुन्छ । केवल, इन्टरनेटदेखि उपमहानगरपालिका समेतको काम हुँदा समेत आपसी समन्वय हुँदैन । उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले स्थानीय तहको समन्वयबिना काम गर्न नपाइने भए पनि अटेरी भइरहेको बताए ।

अहिले ट्राफिक लाइट जडानको काम समन्वयमै भए पनि उपमहानगरपालिकाले छिटो गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । सडकमा काम गर्दा उपमहानगरपालिकासँग समन्वय आवश्यक रहेको बताउँदै रिजाल भन्छन्, ‘सबै निकायबीच समन्वय र सहकार्य गरेर काम गर्दा रिजल्ट पनि राम्रो आउँछ र सडक नराम्रो हुने क्रम पनि रोकिन्छ ।’

 

प्रकाशित मिति : २०८० माघ १६ गते मंगलबार