16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

रेडक्रसलाई घुम्ती रक्त संकलन बस हस्तान्तरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, माघ १३, २०८०  

नेपालगन्ज ।
गैरआवासीय नेपाल संघ (एनआरएनए)ले नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवा नेपालगन्जलाई एक समारोहका बीच शुक्रबार घुम्ती रक्त संकलन बाहन हस्तान्तरण गरेको छ । गैरआवासीय नेपाल संघका अध्यक्ष डा.बद्री केसीले नेपालगन्ज उपमहानगरपालिकाका कार्यबाहक मेयर कमरुद्दिन राईलाई र राईले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनालाई बसको साँचो हस्तान्तरण गरे ।

नेपालगन्ज उपमहानगरपालिकाका कार्यबाहक मेयर कमरुद्दिन राईले स्थानीय सरकारले गर्ने विभिन्न कार्यमध्ये स्वास्थ्य सेवा अति महत्वपूर्ण भएको र यो घुम्ती रक्त संकलन बाहनले रेडक्रसलाई सेवा प्रवाहमा थप प्रभावकारिता थप्ने विश्वास व्यक्त गरे । गैरआवासीय नेपाल संघका अध्यक्ष डा.बद्री केसीले रक्त संकलनका लागि प्राविधिक रूपमा सुविधासम्पन्न बस नेपालका पाँच वटा प्रदेशलाई उपलब्ध गराइसकेको र आगामी दिनमा कर्णाली र गण्डकी प्रदेशलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महासचिव नवराज ढुंगानाले रक्त संकलनका लागि बाहन उपलब्ध गराउने एनआरएनएलाई धन्यवाद व्यक्त गर्दै रेडक्रसको अन्य मानवीय सेवामा सहयोग गर्न गैरआवासीय नेपाल संघलाई अनुरोध गरे ।नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले धेरै वर्षको प्रयासपछि घुम्ती रक्त संकलन बाहन प्राप्त भएकोमा खुसी व्यक्त गर्दै दाताप्रति अभार प्रकट गरे ।

कार्यक्रममा गैरआवासीय नेपाल संघका उपाध्यक्ष रामशरण सिम्खडा, सल्लाहकार टेकबहादुर कार्की, संस्थागत रक्तदाता जनमत अद्र्धसाप्तहिकका प्रधानसम्पादक पूर्णलाल चुकेले शुभकामना मन्तव्य र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाकी उपसभापति शान्ति श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

अतिथिहरूलाई संस्थागत रूपमा मायाको चिनो प्रदान गरिएको थियो भने कार्यक्रम सञ्चालन नेपाल रेडक्रस सोसाइटी बाँके शाखाकी वरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्लले गरेकी थिइन् ।

 

प्रकाशित मितिः शनिबार, माघ १३, २०८०     9:56:30 AM  |