नेपालगन्जमा हाँस पाउनै मुस्किल



नेपालगन्ज ।
हाँसको छोइला सहरमा रुचिको परिकारमा पर्न थालेको छ । किसानले हाँस पाल्न छाड्दै गर्दा यसको छोइलाको स्वाद मिठो मान्नेहरू धेरै छन् । तर जति हाँसको परिकारको माग बढ्न थालेको छ उति हाँस पाउन मुस्किल हुन थालेको छ ।नेपालगन्जमा पनि हाँसको छोइलाको माग बढ्दै गएको छ ।

नेपालगन्जमा हाँसको छोइलालाई स्वादिष्ट बनाएर सहरमा परिचित बनाउने श्रेय नेपालगन्जका राजकुमार थापालाई जान्छ । जसले यहाँ हाँसको छोइलालाई ब्रान्डिङ मात्रै गराएनन् गाउँका किसानलाई हराउँदै गएको हाँस पालनमा समेत प्रोत्साहन गरिरहेका छन् । थापा भन्छन्, ‘काठमाडौंमा हाँसको छोइला खाएको थिएँ त्यही देखेर नेपालगन्जमा पनि सम्भावना खोज्दै बनाउन सुरु गरेको हुँ ।

अहिले हाँसको छोइला खोज्दै मकहाँ आउनेहरू धेरै हुनुहुन्छ ।’ हाँसको छोइला बिक्रीका लागि नै थापाले २०६८ सालबाट नेपालगन्जको न्युरोडमा फेवा रेस्टुरेन्ट सुरु गरेका थिए । ‘मकहाँ मुख्यतः हाँसको छोइलाकै लागि ग्राहकहरू आउँछन् । यो विशेष परिकारका रूपमा स्थापित भएको छ,’ थापा भन्छन्, ‘हाँसको छोइलाको बिक्री बढेपछि हाँस पालनमा समेत प्रोत्साहन भइरहेको छ ।’

उनका अनुसार फेवामा मात्रै मासिक सयवटा जति हाँसको खपत हुन्छ । तर ती हाँसहरू बर्दियाबाट ल्याउनुपर्ने बाध्यता छ । बाँकेमा खासै हाँस नहुने भएकाले बर्दियाबाट ल्याउने गरिएको बताउँदै थापा भन्छन्, ‘एउटा हाँसको मूल्य न्यूनतम १ हजारदेखि २ हजारसम्म पर्छ । बाँकेमै हाँसपालनको वातावरण भए राम्रो हुन्थ्यो ।’

हाँसको छोइलाको माग धेरै हुने भएकाले हाँसपालनमा समेत प्रोत्साहन गर्ने हो भने कृषकलाई फाइदा हुने देखिन्छ । तर त्यतातर्फ कसैको ध्यान गएको देखिँदैन । थापा भन्छन्, ‘यसबाट हामीलाई मात्रै होइन किसानलाई पनि प्रत्यक्ष फाइदा पुग्छ । त्यसैले हाँसपालनलाई प्रोत्साहन गर्नुपर्छ ।’

  • No tags available
प्रकाशित मिति : २०८० माघ ९ गते मंगलबार