17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

राममन्दिरको प्राण प्रतिष्ठामा उत्सवमय बन्यो नेपालगन्ज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, माघ ९, २०८०  

नेपालगन्ज ।
भारतको उत्तर प्रदेशस्थित अयोध्यामा नवनिर्मित राम मन्दिरको सोमबार प्राण प्रतिष्ठा गरियो । भगवान् रामको जन्मस्थल मानिने अयोध्यामा निर्मित भव्य मन्दिरमा प्राण प्रतिष्ठा गरिएको हो । अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा भइरहँदा बाँकेका नेपालगन्ज, डुडुवा, नरैनापुर गाउँपालिकाहरू समेत भव्य उत्सव मनाइएको छ । यी गाउँपालिकाले सोमबार एक दिन सार्वजनिक बिदा नै दिएका थिए ।

बिदासँगै माछा मासु र मदिरा सेवन, बेचविखन तथा पशु काटमार नगर्नसमेत आग्रह गरिएको थियो । दिनभर कतै हनुमान आराधना, हुनुमान चालिसा पाठ, राम धुनीजस्ता धार्मिक अनुष्ठान, र शोभायात्रा गरिएको थियो । भारतको राजनीतिक र सांस्कृतिक प्रभावका कारण नेपालका कतिपय स्थानीय तहले अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा हुँदा बिदा दिइरहेको पाइएको छ ।

सो अवसरमा भारतको केन्द्र सरकारले देशभर नै आधा दिनको छुट्टी दिने घोषणा गरेको थियो । सन् २०१९ मा भारतको सर्वाेच्च अदालतले राममन्दिर स्थापना गर्ने विषयमा गरेको फैसलापछि मन्दिर बनाइएको हो । अदालतको फैसलापछि सन् २०२० मा राम मन्दिर निर्माण कार्य प्रारम्भ गरिएको थियो । मन्दिर परिसरले ६७ एकड जमिन ओगटेको छ ।

प्राण प्रतिष्ठाअघि भारतीय प्रधानमन्त्री मोदी ११ दिनको उपबासमा छन् । सन् २०२४ मा लोकसभा निर्वाचनअघि हुन लागेको राम मन्दिरको उद्घाटनले भारतीय जनता पार्टीको चुनाव नतिजालाई प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

 

प्रकाशित मितिः मङ्लबार, माघ ९, २०८०     9:25:19 AM  |