कोहलपुर ।
अत्यधिक चिसो बढेपछि कोहलपुर नगरपालिकाले तीन दिन विद्यालयको पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ । सरोकारवाला निकायसँगको छलफलपछि नगरपालिकाले माघ ८ देखि १० गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयको पठनपाठन स्थगित गर्ने निर्णय गरको हो ।
नगरपालिकाका कार्यबाहक नगर प्रमुख संगीता सुबेदीको अध्यक्षतामा आइतबार बसेको बैठकले नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू तीन दिन बन्द गर्ने निर्णय गरेको हो । चिसोका कारण बालबालिकामा प्रतिकूल असर पर्न सक्ने भएकाले विद्यालयको पठनपाठन स्थगित गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
‘मौसमको प्रतिकूलतालाई हेर्दै माघ ८ देखि १० गतेसम्म विद्यालयको पठनपाठन स्थगित गर्ने निर्णय भएकाले सोहीबमोजिम विद्यालयमा पठनपाठन स्थगित गर्न÷गराउनु हुन सम्बन्धित सबैका लागि योे सूचना जारी गरिएको छ,’ नगरपालिकाद्वारा आइतबार जारी सूचनामा भनिएको छ ।
बैठकमा नगरभित्रका शिक्षासँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन, क्रिसाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थितिमा केही समयका लागि विद्यालयमा पठनपाठन स्थगित गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
त्यसैगरी, अत्यधिक चिसो बढेसँगै कोहलपुर नगरपालिकाले अति विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण सुरु गरेको छ । केही दिनदेखि बढिरहेको कठ्यांग्रिदो जाडोले ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित हुने भएकाले विपन्न वर्गका ज्येष्ठ नागरिकलाई कम्बल वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यबाहक नगर प्रमुख सुबेदीले विपन्नमा पनि अति विपन्न ज्येष्ठ नागरिकलाई जाडोमा केही हदसम्म सहयोग पुगोस् भन्ने उद्देश्यले कम्बल वितरण गरिएको जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्