17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

लोकप्रिय बन्दै पूर्वसांसद चौधरीको अचार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, माघ ८, २०८०  

दाङ ।
दाङको लमहीमा जारी महोत्सवमा पूर्वसांसद शान्ता चौधरीको अचार प्रमुख आकर्षण बनिरहेको छ । मुख्य प्रवेशद्वारबाटै ठूलो ब्यानरमा शान्ताको स्वादिलो अचार उद्योग देख्न सकिन्छ । महोत्सवको २२८ नम्बरको स्टलमा पूर्वसांसद शान्ताद्वारा घरमै बनाइएका विभिन्न अचारहरूका परिकार राखिएको छ ।

महोत्सवमा स्थानीय अचारको आकर्षण बढ्दो छ । घोराही उपमहानगरपालिका–४ वसन्तपुर निवासी नेकपा एमालेकी नेतृ एवम् पूर्वसांसद शान्ता चौधरीले बनाएको स्थानीय अचारप्रति मेलामा आकर्षण बढ्दै गएको हो । महोत्सवमा दर्शकले निकै रुचाएको मुख्य खाद्यपदार्थ हो, अचार । उद्योग दर्ता गरेर आफ्नो बारीको उत्पादन प्रशोधन गरी व्यावसायिक रूपमा अचार उत्पादनमा लागेको पूर्वसांसद चौधरीले बताइन् । नेपालमा केही छैन भनेर विदेशिने युवाहरूका लागि चौधरी गतिलो उदाहरण बनेकी छन् ।

गतवर्षदेखि अचार उद्योग सञ्चालनमा ल्याएको उनले बताइन् । अचार व्यवसायबाट महोत्सवमा राम्रो आम्दानी गरिरहेको उनले जानकारी दिइन् । महोत्सवमा अचारको राम्रो कारोबार भइरहेको चौधरीले जनाइन् । चौधरीले अचार व्यवसाय निकै राम्रो फस्टाउने विश्वास व्यक्त गरिन्। आफ्नौ बारीमा उत्पादन भएका फलफूल तरकारी प्रशोधन गरेर अचार बनाउने गरिएको उनले जानकारी दिइन् ।

‘मटन, चिकेन, माछा, बफसहित भेज अचार मेलामा राखिएको छ,’ उनले भनिन्, ‘भेजमा लप्सी, अकबरे, बयर, मुला, लसुन, अदुवा, गुन्द्रुक, तामा, खुर्सानी र मिक्स भेजमा काउली, गाजरलगायतका अचार छन् ।’ एक सय दश रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्मका अचार मेलामा बिक्री भइरहेका छन् । मेलामा पूर्वसांसदले चलाएको अचारको स्टल कहाँ छ रे ? भन्दै मानिसहरू आउने गरेका छन् ।

‘यसो भनेको सुन्दा खुसी लागेर आउँछ,’ पूर्वसांसद चौधरी भन्छिन्, ‘महोत्सव अवलोकन गर्न आएका दर्शकले खोजीखोजी आएर अचार किनेर लैजाने गरेका छन् ।’अचार व्यापारको अभ्यासले आपसमा आत्मीयता बढाउनुका साथै दुःखसुखका कुरासमेत आदान–प्रदान गर्न सजिलो भएको उनले सुनाइन् । ‘यस्ता कामले एकातिर महिलालाई स्वावलम्बी बन्न सिकाउँछ भने अर्कोतर्फ सामूहिक व्यापारको अभ्याससमेत गराउँछ,’ उनी भन्छिन् ।

चौधरीले उत्पादन भएको अचार घरबाटै पनि खपत हुने गरेको बताइन् । ‘मागअनुसार हामी पूर्ति गर्न सकिरहेका छैनौँ,’ उनी भन्छिन् । ‘अचार बनाउने तालिम सिकेर व्यवसायमा लागेकी शान्ति अहिले राम्रो मुनाफा आर्जन हुने गरेको बताउँछिन् ।

नेकपा एमालेबाट संघीय सांसद भई पार्टीको सचेतक समेत भएकी शान्ता अचार उद्योगबाट निकै सन्तुष्ट रहेको धारणा राख्छिन् । उनले युवावर्गलाई रोजगारीका विदेश नताकी स्वदेशमै मेहनतका साथ उद्यम गरेर राम्रो आम्दानी गर्न सकिने सुझाव दिइन् । महोत्सवमा विभिन्न जातीय मौलिक खाद्य परिकारका स्टलहरू पनि रहेका छन् ।

प्रकाशित मितिः सोमवार, माघ ८, २०८०     9:44:50 AM  |