17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

कोहलपुरका अकासेपुल डिपिआरमै सीमित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, माघ ८, २०८०  

गणेश रावत । कोहलपुर।
पूर्वमेयर लुटबहादुर रावतको पालामा अकासेपुल निर्माणका लागि तीन वटा स्थानमा गरिएका डिपिआर डिपिआरमै सीमित भएका छन् ।२०७७ सालमा कोहलपुर नगरपालिकाका न्युरोड चोक, साझा चोक र हाइस्कुल चोकमा अकासेपुलका लागि डिपिआर तयार गरिएको थियो । डिपिआर भएको वर्र्षौं बितिसक्दा पनि अकासेपुल बन्ने कुनै सुरसार देखिएको छैन ।

२०७९ को स्थानीय तह निर्वाचनमार्फत नयाँ जनप्रतिनिधि आएपछि सम्भावित दुर्घटना न्यूनीकरण र पैदलयात्रीहरूको सुरक्षाका लागि भन्दै अकासेपुल निर्माण गर्ने चर्चा चलेको थियो । रावत नगर प्रमुख भएकै बेला नगरपालिकाले अकासेपुल निर्माणका लागि डिपिआरसमेत तयार गरिएकोे थियो ।

त्यसलाई निरन्तरता दिँदै त्यसपछि नगरपालिकाको नेतृत्वमा आएका पूर्णप्रसाद आचार्यले कुल १२ लाख रुपैयाँको लागतमा डिपिआर सम्पन्न भइसकेको अकासेपुल निर्माणका लागि पहिलोपटक गत वर्ष इन्जिनियरको सहभागितामा प्रारम्भिक जाँच गरेका थिए । तर, न्युरोड चोकबाहेक अन्य दुई स्थानका अकासेपुल निर्माणका लागि मात्रै नगरपालिकाले प्रारम्भिक जाँच गरेको थियो ।

चालु आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रममा समेत वडा नम्बर १० हाइस्कुल चोक र वडा नम्बर ११ मा रहेको साझा चोकमा अकासेपुल निर्माण कार्यलाई अघि बढाउने उल्लेख गरियो । नगरपालिकाले अकासेपुल निर्माण कार्य अघि बढाउने निर्णय गरे पनि अहिलेसम्म एउटै पुल निर्माणको काम अघि बढ्न सकेको छैन ।

गत वर्ष अकासेपुल निर्माणका लागि विनियोजित डेढ करोड रुपैयाँसमेत खर्च हुन नसकेपछि फ्रिज भएको छ । त्यतिबेला नगर प्रमुख आचार्यले अकासेपुल निर्माणका लागि संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग ५ करोड रुपैयाँ माग गरेको बताएका थिए ।

मेयर आचार्यले निर्वाचनपूर्व नै अकासेपुल निर्माण कार्यलाई प्राथमिकता दिँदै आफ्नो चुनावी घोषणापत्रमा पनि समावेश गरेका थिए । नगरपालिकाको बजेटबाट अकासेपुल निर्माण सम्भव नभएकाले प्रदेश र संघीय सरकारसँग बजेट माग गरिएको उनले जनाए । ‘पूर्व स्थानीय सरकारले कोहलपुरका हाइस्कुल चोक, साझा चोक र न्युरोड गरी तीन ठाउँमा अकासेपुलका लागि डिपिआर गरेको थियो, हामी आएपछि दुई ठाउँमा प्रारम्भिक जाँच ग¥यौँ,’ मेयर आचार्यले भने, ‘तर यो काम नगरपालिकाको बजेटले सम्भव थिएन ।

त्यसैले हामीले प्रदेश र संघ सरकारसँग बजेट माग ग¥यौँ । संघबाट केही रकम विनियोजन पनि भइसकेको छ ।’ हाइस्कुल चोकमा अकासेपुल बनाउन भौतिक पूर्वाधार मन्त्रालयबाट टेन्डर पनि भइसकेको उनले जानकारी दिए । डिजाइन परिवर्तन गर्नुपर्ने भएकाले काम रोकिएको उनले बताए ।

‘नाप, नक्सा र डिजाइन परिवर्तन भई संशोधन हुनासाथ अकासेपुल निर्माणकार्य अघि बढ्नेछ,’ उनले भने ।
‘नक्सा समयमै सच्चाइदिएको भए अहिलेसम्म कोहलपुर हाइस्कुलमा एउटा भए पनि अकासेपुल बनिसक्ने थियो,’ उनले भने, ‘त्यसले थप कामका लागि संघीय र प्रदेश सरकारलाई दबाब हुने थियो । साझा चोक र न्युरोडमा पनि अकासेपुल बन्ने थिए ।’

प्रकाशित मितिः सोमवार, माघ ८, २०८०     9:38:44 AM  |