16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

महिलाविरुद्ध प्रहरीमा पुरुषका उजुरीः ‘माइती गएकी श्रीमती फर्काइपाउँ’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ ५, २०८०  

नेपालगन्ज।
अन्यायमा परेको भन्दै पुरुषले समेत महिलाविरुद्ध प्रहरीमा उजुरी दिन थालेका छन् । यसरी उजुरी दिने पुरुषको संख्या चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म ४० जना पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीले यी उजुरीलाई समेत लैङ्गिक हिंसाकै सूचीमा समावेश गरेको छ । तर यही अवधिमा महिला हिंसाका २ सय ९२ वटा घटना भएका छन्, जो पुरुषको तुलनामा असाध्यै संवेदनशील छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीका अनुसार पुरुषको तुलनामा महिलामाथि हुने हिंसाको प्रकृति गम्भीर प्रकारको हुने गरेको छ । बाँके प्रहरीका अनुसार उजुरी गर्ने अधिकांश पुरुषहरू श्रीमती रिसाएर माइतीमा गएर बसेको समस्या लिएर आउने गरेका छन् । सामान्य विषयमा मनमुटाव भई माइती हिँडेकी श्रीमती लामो समयसम्म पनि नफर्किएको भन्दै पुरुषहरूले उजुरी हालेका छन् ।

प्रहरीले त्यसरी उजुरी परेपछि महिलालाई बोलाएर मेलमिलाप गराई पठाइदिने गरेको छ । प्रहरीका अनुसार कति मेलमिलाप गरेर फेरि घरजम गरेर बस्छन् त कति अलग्गै बस्ने भन्दै सम्बन्ध विच्छेदतिर लाग्छन् । प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र बाँकेकी प्रमुख एवम् प्रहरी निरीक्षक महेश्वरी विष्टका अनुसार पुरुषको तर्फबाट पनि उजुरी आइरहेकाले पीडित पुरुषको छुट्टै रेकर्ड राख्न सुरु गरिएको छ ।

उनका अनुसार परेका उजुरीलाई हेर्ने हो भने श्रीमती रिसाएर लामो समयसम्म माइत गएर बसेकाले बोलाएर मेलमिलाप गरी पाऊँ भन्नेहरू धेरै छन् । प्रहरीका अनुसार उजुरीमा श्रीमती माइत गएर बसिदिँदा खाना पकाउन, लुगा धुन, साना छोराछोरीलाई रेखदेख गर्न र घरधन्दा चलाउनसमेत समस्या भएको भन्दै आउनेहरू छन् । भारतबाट विवाह गरेकाहरूका श्रीमती माइतीमा गएर बस्दा झिकाउन समस्या हुने गरेको प्रहरीको अनुभव छ ।

‘हामीले मेलमिलापका लागि पहल गर्दा कतिपयले श्रीमान्ले गाली गरेर माइत आएको, अब म फर्किन चाहन्नँ, सँगै बस्न पनि सक्दिनँ पनि भनेका छन्,’ प्रहरी निरीक्षक विष्टले भनिन्् । खान लाउन नदिएको, गाली गलौज गरेको, घरबाट निकालिदिएको, श्रीमान् अर्कै केटीसँग लागेको, मानसिक यातना दिएको र कुटपिट गरेकोलगायतका समस्या लिएर महिलाहरू प्रहरीकोमा पुग्ने गर्छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले कुटपिटबाट गहिरो चोटपटक लागेको घटनासँग सम्बन्धित उजुरी सिधै कारबाहीका लागि पठाउने गर्छ । डिएसपी डाँगी भन्छन्, ‘हामीले घरेलु हिंसाका कतिपय उजुरीमा घरको कुरा घरबाटै मिलाउने भनेर मेलमिलापको माध्यमबाट समाधानको प्रयास गर्छौ ।’

मेलमिलाप गराएर पठाइसकेपछि पनि मासिक रूपमा करिब तीन महिनासम्म फोन गरेर अवस्था बुझ्ने गरेको प्रहरीको भनाइ छ । महिलाहरूमाथि हुने हिंसाबारे चर्चा भइरहे पनि पुरुषहरू नै पत्नीबाट पीडित बनेका विषय कमै प्रकाशमा आउने गर्छन् ।

प्रकाशित मितिः शुक्रबार, माघ ५, २०८०     11:10:52 AM  |