मधुर पौडेल। बाँसगढी।
बाँसगढी उद्योग वाणिज्य संघले आयोजना गरेको छैटौँ बाँसगढी कृषि, पर्यटन, व्यापार मेला तथा बर्दिया माघ महोत्स–२०८० आइतबारदेखि सुरु भएको छ । एक समारोहका बीच नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शान्तिको प्रतीक परेवा उडाएर र पानसमा बत्ती बालेर बाँसगढी महोत्सवको उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले थारू जातिको परम्परा, संस्कृति, खानपान, भेषभूष, कला, सीपको संरक्षण गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले बाँसगढीमा रहेको थारू होमस्टेमा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्नसके यस क्षेत्रको विकास, रोजगारी र आय–आर्जनमा निकै फाइदा पुग्नसक्ने बताए । त्यसका लागि आफू सहयोग गर्न प्रतिबद्ध रहेको उनले जनाए ।
कार्यक्रममा बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्काले महोत्सवले थारू समुदायको मौलिक सांस्कृतिक पक्षलाई उजार गर्न ठूलो भूमिका खेल्ने बताए । उनले प्रसिद्ध मन्दिर केदारेश्वर धाम दर्शन गर्न र घुम्न आउने पर्यटकलाई मध्यनजर गर्दै अगाडि सारिएका योजनामा बाँसगढी नगरपालिकाले हातेमालो गर्ने जनाए ।
कार्यक्रममा थारूलगायत विभिन्न समुदायका संस्कृति झल्किने सिंगारु, लहरे, सरंगे नाच, पञ्चेबाजासहितका झाँकी प्रस्तुत गरिएको थियो । झाँकीसहितको ¥याली बाँसगढी बजार परिक्रमा गर्दै उद्घाटन स्थलमा पुगेको थियो । संघका अध्यक्ष बद्रीनाथ बरालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन महासचिव विकास गौतमले गरेका थिए ।
माघ ९ गतेसम्म सञ्चालन हुने मेलामा सूचना प्रविधि, कृषि उपज, जडिबुटी, शैक्षिक प्रदर्शनी, पर्यटन, हस्तकला, लघु उद्योग, सेवामूलक संघसंस्था, बैंक–वित्तीय तथा सहकारी संस्था, होटल रेस्टुरेन्ट, मौलिक कला संस्कृति, थारू गाँउलगायत गरी १ सय ५० स्टल वटा स्टल रहेका छन् । महोत्सव प्रवेशका लागि १ सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको आयोजकले जनाएको छ ।
महोत्सवको दोस्रो दिन माघ १ गते सोम्बार गायक चक्र बम, सदीक्षा चौधरी, सोनु थारू, नरेश जोगीलगायत कलाकारहरूको प्रस्तुति रहने मेला प्रचारप्रसार समितका संयोजक सन्जु वलीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्