24 June 2024  |   सोमवार, असार ११, २०८१

फोटो फ्रेममा आत्मनिर्भर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, पुस २९, २०८०  

नेपालगन्ज।
नेपालगन्जमै उत्पादन सुरु भएपछि आकर्षक फोटो फ्रेमका लागि भारत जानुपर्ने बाध्यता हटेको छ । फोटो फ्रेमकै लागि विदेशमा निर्भर हुनुपर्ने अवस्था अन्त्य भएको हो । फोटो फ्रेम उत्पादनका लागि देशका विभिन्न सहरहरूमा युवाहरूले सानै लगानीमा उद्योग खोलेका छन् । मेसिन जडान र कच्चापदार्थसहित न्यूनतम १० लाख लगानीमा यो उद्योग खोल्न सकिने बताइएको छ ।

त्यसभन्दा बढी लगानी उद्योगको क्षमतामा भर पर्ने जानकारहरू बताउँछन् । नेपालगन्जमा फोटो फ्रेम उत्पादन गरिरहेका उद्यमी निलराज अधिकारी नेपालमै फोटो फ्रेम उत्पादनपछि विदेश परनिर्भरता अन्त्य भएको बताउँछन् । उनका अनुसार बाँकेमा करिब आधा दर्जन यस्ता उद्योग सञ्चालनमा छन् ।

‘बजारको सम्भावना आफँै खोजी गर्ने हो । उद्योग खोलेपछि मार्केटिङ गर्न सके राम्रो सम्भावना छ,’ अधिकारी भन्छन् । विवाह, ब्रतबन्ध, सभा समारोहमा फोटो फ्रेम प्रयोग गरिन्छ । स्वदेशी अर्थतन्त्रमा समेत योगदान दिइरहेको यो उद्योगका चुनौती पनि धेरै भएको यसमा संलग्न व्यक्तिहरूको भनाइ छ ।

यस्ता फ्रेमहरू अहिले पनि भारतबाट तस्करी गरेर आउने गरेको व्यवसायीहरू बताउँछन् । उनी यी र यस्तै सानो लगानीबाट उद्योग सञ्चालन गर्ने वातावरण बनाउन सके युवाहरूको विदेश पलायन रोक्न सकिने धारण राख्छन् ।

प्रकाशित मितिः आइतवार, पुस २९, २०८०     9:22:10 AM  |