पौडेल वंश राष्ट्रिय महाधिवेशनः १३ बुँदे कोहलपुर घोषणापत्र जारी गर्दै समापन



कोहलपुर।
पौडेल वंश महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन कोहलपुर घोषणपत्र जारी गर्दै समापन भएको छ । पुस २७ र २८ गते कोहलपुरमा सम्पन्न महासंघले ‘पौडेल थर हाम्रो साझा घर’ नारा तय गर्दै १३बुँदे घोषणापत्र जारी गरेको हो । साथै महासंघले हरिराम पौडेलको अध्यक्षतामा ४४ सदस्यीय नयाँ कायसमिति पनि चयन गरेको छ ।

निवर्तमान अध्यक्ष लोकनाथ पौड्यालको अध्यक्षतामा भएको महाधिवेशन सौहार्द्रपूर्ण वातावरणमा सम्पन्न भएको महासंघले जनाएको छ । सो अधिवेशनमा देशभरिका ६ सयभन्दा बढी प्रतिनिधि तथा प्रर्वेक्षकहरूको उपस्थिति रहेको जनाइएको छ ।महासंघले जारी गरेको कोहलपुर घोषणापत्रमा कात्तिक १७ गते जाजरकोट र रुकुम पश्चिम जिल्लामा भूकम्पबाट निधन भएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गरिएको छ ।

साथै भूकम्पबाट घरबारविहीन भएका परिवारको बसोबासको सु–व्यवस्था गर्न सरकारसँग माग पनि गरिएको छ ।  त्यसैगरी, नेपालका विभिन्न जिल्ला छरिएर बसेका पौडेल बन्धुहरूको वंशीय तत्यांक संकलन गर्ने निर्णय गरिएको छ । वंशावली संकलन र तयार गर्न जिल्ला तहमा समितिहरू गठन गरी ४ वर्षभित्र प्रदेश तहमा महिलाहरूको समेत नाम उल्लेख गरी वंशावली प्रकाशन गर्ने प्रतिबद्धता जनाइएको छ । त्यस्तै, महाधिवेशनले प्रत्येक तहमा अक्षय कोष स्थापना गरी आगामी ४ वर्षभित्र स्थापित महासंघको केन्द्रीय अक्षयकोषमा ११ करोड पु¥याउने लक्ष्य राखेको छ ।

हाल विभिन्न विधि अपनाई कूल देवताको पूजा गरी आएको पाइएकाले पूजा विधिमा यथाशक्य एकरूपता ल्याउने प्रयास गरिने जनाइएको छ । त्यसैगरी पौडेलहरूले शर्मा,उपाध्याय, केसी, खत्री, आदि थर लेख्ने गरेकोमा अब उप्रान्त पौडेल थर लेख्न सबैलाई अनुरोध गर्ने निर्णय महाधिवेशनले गरेको छ । देवघाट चितवनमा निर्माणाधीन कवि शिरोमणी लेखनाथ पौड्याल अतिथि सदनलाईसहयोग जुटाई निर्माण सम्पन्न गरी व्यवस्थित गर्ने, पौडेल बन्धु सम्बन्धी पुरातात्विक एवम् ऐतिहासिक दस्तावेजहरू संकलन गरी संग्रह गर्ने, काठमाडौँमा महासंघको सम्पर्क कार्यालय खोली भवन निर्माणका लागि जग्गासमेतको बन्दोबस्त मिलाउने घोषणा गरिएको छ ।

त्यसैगरी, प्रवासस्थित पौडेल वंश सम्बन्धी संघसंस्था र पौडेल बन्धुहरूसँग सम्पर्क र समवन्य कायम गर्ने, देशका विभिन्न भागमा स्थापित सामाजिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र अन्य थर गोत्रका संघसंस्थासँग मैत्रीपूर्ण सम्बन्ध र सहकार्य गर्दै सामाजिक सेवामा संग्लन रहने, महासंघमा युवायुवती एवम् राष्ट्र सेवाबाट अवकाशप्राप्त प्रवुद्धवर्गलाई आबद्ध हुन प्रोत्साहित गर्ने घोषणा गरेको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८० पुस २९ गते आइतबार