राप्ती सोनारीको १४औं अधिवेशनः नौ वटा ऐन र कार्यविधि पारित, गाउँ प्रहरी राख्ने बाटो खुल्यो



कोहलपुर।
राप्ती सोनारी गाउँपालिका गाउँसभाको १४औं अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले नौ वटा ऐन तथा कार्यविधि पारित गरेको छ । विधायन समिति संयोजक रामलखन थारूले दुई वटा ऐन र ७ वटा कार्यविधि सभामा पेस गरेका थिए । गाउँ प्रहरी ऐन २०८० र कर्मचारी व्यवस्थापन ऐन २०८० उनले सभामा पेस गरे ।

त्यसैगरी क्याम्पस कोष सञ्चालन कार्यविधि २०८०, पूर्वाधार आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८०, राप्ती सोनारी मर्मत सम्भार कोष सञ्चालन कार्यविधि २०८०, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजत प्रमाणपत्रसम्बन्धी कार्यविधि २०८०, राप्ती सोनारी गाउँपालिका अनुदानसम्बन्धी कार्यविधि २०८०, राप्ती सोनारी गाउँपालिका विभिन्न वर्ग आवास कार्यक्रम कार्यान्वयनसम्बन्धी कार्यविधि २०८० र फिल्डमा काम गर्ने प्राविधिक कर्मचारी परिचालन कार्यविधि पनि उनले पेस गरे ।

प्रस्तुत ऐन र कार्यविधिमा गाउँसभा सदस्य कमला विक र छविलाल कामीले सुझावसहितको टिप्पणी राखेका थिए । त्यसबाहेक अन्य कसैले विमति नजाएपछि सभाध्यक्षसमेत रहेका पालिका अध्यक्ष तप्तबहादुर पौडेलले पारित भएको घोषणा गरे । १२औं र १३औं गाउँसभाले ४० वटा ऐन र कार्यविधि पारित गरेको थियो । स्थानीय सरकार संचालन ऐन २०७४ ले निर्दिष्ट गरेका अझै ३२ वटा ऐन, कार्यविधि, मापदण्ड र निर्देशिकाहरु कार्यपालिका बैठकले पारित गरिसकेको छ ।

त्यसैमध्यबाट १४औं गाउँसभाले ९ वटा ऐन र कार्यविधि पारित गरेको हो । अब गाउँपालिकालाई गाउँ प्रहरी राख्ने बाटो खुलेको छ । गाउँसभामा उपाध्यक्ष मनिषा सिंह थारूद्वारा प्रस्तुत आर्थिक ऐन २०८० मा प्रथम संशोधन प्रस्ताव र न्यायिक समितिको प्रतिवेदन पनि सर्वसम्मत पारित भएको छ । त्यसैगरी, सुशासन समिति संयोजक शालिकराम डाँगीद्वारा प्रस्तुत सुशासन समितिको प्रतिवेदन र लेखा समिति संयोजक केशवराज दमाईद्वारा प्रस्तुत लेखा समितिको प्रतिवेदन पनि गाउँसभामा सर्वसम्मत पारित भएको छ ।

गाउँसभालाई सम्बोधन गर्ने अधिकांश सदस्यहरूले पालिकाको समृद्धिका लागि सबैको एकता जरुरी रहेको औँल्याएका थिए । उनीहरूले विकासलाई समानुपातिक ढंगबाट लैजान सके पालिका समृद्ध बन्ने उद्घोष गरेका थिए । गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले सबैको समन्वय र सहकार्यबाटै अघि बढ्ने विश्वास व्यक्त गरे । उनले सुशासन र पारदर्शिता कायम गर्दै पालिकाका कार्यक्रमहरू अघि बढिरहेको उल्लेख गरे ।

कार्यक्रममा पालिकाका उपाध्यक्ष मनिषासिंह थारू, वडा नम्बर १ का अध्यक्ष यमबहादुर खड्का, वडा नम्बर ३ का अध्यक्ष मीनकुमार चौधरी, ४ का अध्यक्ष मीनराज खड्का, ५ का अध्यक्ष झगरु थारू, ६ का अध्यक्ष लवराज खरेल, ७ का अध्यक्ष रामलखन थारू, ८ का अध्यक्ष शालिकराम डाँगी र ९ का अध्यक्ष सोहनलाल थारूले आआफ्नो धारणा व्यक्त गरेको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २०८० पुस २७ गते शुक्रबार