13 July 2024  |   शनिबार, असार ३०, २०८१

अवधीमा समाचार प्रकाशन सुरु गरेकोमा खुसी व्यक्त

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, पुस २६, २०८०  

नेपालगन्ज।
संघीयता र समावेशीतालाई आत्मसात् गरी सरकारी सञ्चारमाध्यम राष्ट्रिय समाचार समिति (रासस)ले मातृभाषामा समाचार सेवा सुरु गरेकोमा अवधी पत्रकार संघ नेपाल केन्द्रीय कार्यसमितिले खुसी व्यक्त गरेको छ । राससले मातृभाषा (अवधी)मा समाचार सेवा सुरु गर्नाले नेपालका सबै भाषाको सम्मान सँगसँगै विकास तथा सम्बद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

‘यो ऐतिहासिक कार्यका लागि राससका अध्यक्ष धर्मेन्द्र झा एवं रासस परिवार र प्रत्यक्ष रूपमा सहयोग गर्ने नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ । पश्चिम नेपालको लुम्बिनी प्रदेशअन्तर्गत परासी, रूपन्देही, कपिलबस्तु, दाङ, बाँके र बर्दिया जिल्लामा अवधीभाषीहरूलाई प्रत्यक्ष फाइदा पुग्ने भएकाले अवधी भाषाको विकास तथा संरक्षणका लागि नेपालगन्ज उपमहानगरपालिकासँगको सहकार्यमा राससले सुरु गरेको सकारात्मक प्रयासलाई विशेष धन्यवाद दिँदै आगामी दिनमा यो सहयोग र सहकार्यको निरन्तरताको समेत कामना गरिएको छ ।

संघले राससलाई मातृभाषा समाचार सेवा सुरु गर्न दिएको प्रतिबद्धताप्रति सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र मन्त्रालयलाई समेत धन्यवाद दिएको छ । साथै रासससँग अवधीभाषी सञ्चारमाध्यमहरूलाई निःशुल्क रूपमा अवधी समाचार सेवा उपलब्ध गराउन समेत माग गरिएको छ ।

प्रकाशित मितिः बिहिबार, पुस २६, २०८०     8:10:14 AM  |