नेपालगन्ज ।
नेपालगन्जबाट हरेक वर्ष आयोजना हुँदै आएको टुर दि ठाकुरद्वारा माघको २६ र २७ गते आयोजना हुने भएको छ । सोही कार्यक्रमका लागि मंगलबार ‘टुर दि ठाकुरद्वारा’को सचिवालय उद्घाटन गरिएको छ । सचिवालयको संघीय सांसद डा. धवलशमशेर राणाले उद्घाटन गरे । टुर दि ठाकुरद्वाराले बाँके र बर्दियामा रहेका धार्मिक, पर्यटकीय स्थल तथा संस्कृतिको प्रचारप्रसार गर्दै आएको भन्दै राणाले प्रशंसा गरे ।
संघीय सांसद डा. राणाले नेपालगन्जदेखि बर्दियाको ठाकुरद्वारासम्म हुने साइकल यात्राजस्तै रारासम्म जाने गरी कार्यक्रम गराउन सके पर्यटन प्रवद्र्धनमा अझ टेवा पुग्ने बताए । टुर दि ठाकुरद्वाराको यो छैटौँ संस्करणमा नेपाल र भारतका गरी करिब ३ सय साइकल यात्रीको सहभागिता रहने क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिए । टुर दि ठाकुरद्वारा अघि नेपालगन्जमा १२ वर्षमुनिका बच्चालाई लक्षित गरी किड्स रेस, कन्जरभेसन टक, रक्तदान गर्ने कार्यक्रम रहेको छ ।
टुर दि ठाकुरद्वारामा सहभागी हुन आएका नेपाल र भारतका प्रतिनिधिलाई नेपालगन्जमा बागेश्वरी मन्दिरको दर्शन, टाँगा सफारी, बाँके राष्ट्रिय निकुञ्जमा सफारी, यहाँको रैथाने खाना खुवाउने, बर्दियामा थारू संस्कृतिको बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ ।
टुर दि ठाकुरद्वारामा साइकलयात्रासँगै पर्यटन, पर्यापर्यटन, वन्यजन्तु संरक्षण, धर्म र संस्कृतिको विषयमा छलफल हुने क्लबका निवर्तमान अध्यक्ष सतिश निरौलाले बताए । टुर दि ठाकुरद्वाराको पहिलो र दोस्रो संस्करणमा दुई जना अष्टे«लियन नागरिकले पनि भाग लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्