समाज सेवामा रत्तिएकी चाँदनी



कोहलपुर।
चादँनी ऐर, पछिल्लो समय मानवीय सेवामा समर्पित छन् । आर्थिक अभावमा उपचारमा छट्पटिएका हुन् या विभिन्न आपत्विपत्मा परेका नागरिक, चादँनीको नजर पुगेको हुन्छ । उनी सक्ने सहयोग गरिहाल्छिन् । चाँदनी बुबा हरि ऐर र आमा इन्नरीदेवी ऐरको कोखबाट २०४९ भाद्र १ गते भिमदत्त नगरपालिका–२ उल्टाखाम कञ्चनपुरमा जन्मिएकी हुन् । समाजसेवामार्फत चादँनीले आफ्नो छुट्टै चिनारी बनाएकी छन् ।

उनी ७ वर्षकी हुँदा उनका बुबाको मृत्यु भएको थियो । परिवारमा बुबापछिको जिम्मेवारी उनले नै निभाइन् । सायद सानै उमेरबाट दुःख भोगेर होला उनी हरेक दुःखकष्टसँग लड्दै अगाडि बढिन् । सानैबाट उनी लेखनतिर पनि लागिन् । सानै उमेरमा ऐर एउटा लेखकको परिचय बनाउनसमेत सफल भएकी थिइन् । लेखन मात्रै नभएर गायन क्षेत्रमा पनि निकै सक्रिय रहेकी उनी सानैबाट अन्याय अत्याचारविरुद्ध कडा आवाज उठाउने गर्थिन् ।

एउटा अभियन्ताको रूपमा काम गर्दै विभिन्न देश तथा विदेशमा रहेका नेपाली युवाहरूको स–सानो सहयोग जुटाएर दुःखी, गरिब, बिपन्नहरूको घाउमा उनी मलम बन्दै गइन् । उनले लिपुलेक, कालापानी, एमसिसिविरुद्ध खरो आवाज पनि उठाइन्, आन्दोलन नै गरिन् । कोभिडका बेला पनि उनी निकै खटिइन् ।

व्यक्तिगत रूपमा सामाजिक कार्य गर्दै आएकी उनले केही समयदेखि यसलाई संस्थागत गर्ने सोचले ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपाल संस्था दर्ता गरेर काम गर्दै आएकी छन् । सरकारले कुनै सहयोग नगरे पनि विभिन्न विदेशी संस्था र विदेशमा रहेका नेपालीबाट सहयोग जुटाएर निरन्तर नेपालमा सेवा गरिरहेकी छन् । गत असोज १७ गते बझाङमा गएको भूकम्पका बेला दुई पटक बझाङ र एक पटक बाजुरा पुगेर राहत वितरण गरिन् ।

बझाङको खप्तड छान्ना र मष्टामा १२५ भन्दा बढी परिवारलाई ब्ल्याङ्केट, डसना, त्रिपाल पनि वितरण गरेकी थिइन् । त्यसैगरी बाजुरा र बझाङको सिमानानजिक पर्ने छेडेदह गाउँपालिकाका ३५ परिवारलाई ब्ल्याङ्केट र करिब २ सय जना बच्चालाई न्यानो लुगा वितरण गरेकी थिइन् । उनी ३ पटक जाजरकोट पनि पुगिन् । त्यहाँ पुगेर उनले पहिलो मृत्यु भएका घर परिवारलाई र दोस्रो चरणमा एकल महिला वृद्धा आमाबुबा, अनाथ बच्चालगायतलाई न्यानो लुगा, ब्ल्याङ्केट, डसना, चाउचाउ, चिउरालगायतका सामग्री वितरण गरेकी थिइन् ।

उनले सुदूर पश्चिमेली नेपाली समाज साउदी, लालीगुराँस नेपाली रेस्टुरेन्ट साउदी, उल्सान नेपाली समाज, फुकुओका सोसाइटी सुख दुःख कोष, सुदूरपश्चिमेली नेपाली सेवा समाज माल्टालगायत थुप्रै सहयोगी दाताहरूको सहयोगमा निरन्तर सेवा गर्दै आएकी छन् । बाटो घाटो एकदम दुर्गम भए पनि ज्यान जोखिममा राखेर प्रत्यक्ष पीडितकहाँ नै पुगेर सेवा गरिरहेकी छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८० पुस २५ गते बुधबार