नेपालगन्ज।
बाँके जिल्ला फुटबल संघको आयोजनामा माघको पहिलो सातादेखि मेयर कप छात्र÷छात्रा फुटबल प्रतियोगिता–२०८० हुने भएको छ । प्रतियोगिता माघ ७ देखि १४ गते सम्म नेपालगन्जमा हुनेछ । प्रतियोगितामा बाँके जिल्लामा रहेका ८ वटा स्थानीय तहका विद्यालयहरूका छात्र÷छात्रा टिमहरूले सहभागिता जनाउने छन् । प्रतियोगिता आयोजनामा नेपालगन्ज उप–महानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
बुधबार प्रतियोगिता आयोजना बारेमा नेपालगन्ज उप–महानगरपालिका र बाँके जिल्ला फुटबल संघबीच सम्झौता भएको छ । सम्झौता पत्रमा नेपालगन्ज उप–महानगरपालिका शिक्षा महाशाखाका उप–सचिव गोर्खबहादुर थापा र बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले हस्ताक्षर गरेका थिए । नेपालगन्ज उप–महानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगितामा करिब ४० विद्यालयको सहभागिता रहने प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष निर्मल चन्दले बताए । नेपालगन्ज उप–महानगरपालिकासँग सम्झौता भएलगत्तै प्रतियोगिताको तयारी तीव्र गतिमा अगाडि बढेको चन्दले जानकारी गराए ।
बाँके जिल्ला फुटबल संघले विगतका वर्षमा मेयर कप जिल्ला स्तरीय छात्र–छात्रा प्रतियोगिता आयोजना गर्दै आएको थियो । कोभिड–१९ का कारण दुई वर्ष प्रतियोगिता हुन सकेको थिएन । माघको ७ गतेबाट सुरु हुने प्रतियोगिताले विद्यालय स्तरबाट फुटबल खेलाडी उत्पादनमा सहयोग गर्ने अखिल नेपाल फुटलब संघका केन्द्रीय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट फुटबल टे«निङ सेन्टरमा प्रतियोगिताका खेलहरू हुनेछ । नेपालगन्ज रंगशालामा सिन्थेटिक ट्रयाक निर्माणको काम जारी रहेकाले प्रतियोगिता धम्बोझीमा गर्नुपरेको बाँके जिल्ला फुटबल संघले जनाएको छ । प्रतियोगिताको विजेता टिमले २१ हजार, उपविजेताले ११ हजार र सर्वाेत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्