कोहलपुर ।
कोहलपुर नगरपालिकाले गृहिणी महिलालाई सीपमूलक तालिम प्रदान गरी व्यावसायिक बनाउन विभिन्न कार्यक्रम गर्दै आएको छ । नगरपालिकाले दिएका तालिमबाट कति महिला लाभान्वित भए भन्नेबारे मंगलबार छलफल गरेको छ । नगरभित्रका गृहिणीलाई व्यवसायी बनाउन तालिम प्रदान गरिएको उपप्रमुख संगीता सुबेदीले बताइन् । नगरपालिकाले प्रदान गरेको सीपमूलक तालिमले कति गृहिणी महिलालाई आर्यआर्जन जोड्यो भनेर मंगलबार छलफल गरिएको जानकारी दिइन् ।
तालिमले प्रत्यक्ष जीवनमा पारेको सकारात्मक प्रभाव र आगामी दिनमा थप कस्तो कार्यक्रम ल्याउँदा प्रभावकारी हुन्छ भन्ने विषयमा छलफल गरिएको उनको भनाइ थियो । कार्यक्रममा उपस्थित ६० जना गृहिणी महिलाहरूमध्ये एक–दुई जनाबाहेक अरूको चित्तबुझ्दो प्रतिक्रिया नआएको उनले दुखेसो पोखिन् । केही कुरा सिक्न इच्छाशक्ति हुनुपर्ने उनको भनाइ थियो ।
त्यस्तै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले सीप विकासमा नगरपालिकाले खासै लगानी नगरेको र नपाएको गुनासो आउने गरेको बताए । थोरै अवसर पाए केही गर्छु भन्ने गृहिणीको माग सम्बोधन गर्न छलफल कार्यक्रमको आयोजना गरिएको ढकालले जानकारी दिए । ‘मागका आधारमा सीपमूलक तालिम प्रदान गरेका छौं,’ उनले भने, ‘तर, यो तालिम तालिममा मात्रै सीमित भयो । नगरपालिकाले दिएको सीपलाई व्यवसायमा रूपान्तरण गरेर हजार–पन्ध्र सय आम्दानी गरुन् भन्ने हो ।’ उनले नागरिकको आर्थिक विकासमा सहयोग पु¥याउनु नगरपालिकाको दायित्व भएको बताए ।
महिलाहरूले सधैँ अरूको मुख ताकेर मात्रै नबसेर आफैँ आत्मनिर्भर बनाउन सीपमूलक तालिम प्रदान गरिएको आर्थिक विकास समिति संयोजक अनिता बिसीले बताइन् । गृहिणी महिलालाई उद्यमी बनाउन र सक्षम बनाउने कार्यक्रमको उद्देश्य रहेको उनले जानकारी दिइन् । उनले आएका गुनासा र आवश्यकता आगामी दिनमा पूरा गर्ने प्रतिबद्धता पनि जनाइन् ।
प्रतिक्रिया दिनुहोस्