नेपालगन्ज।
बजारमा छाएको आर्थिक मन्दीको असर आर्थिक अपराधमा समेत देखापरेको छ । प्रहरी कार्यालयमा दिनहुँ जस्तो चेक बाउन्सलगायत रकम ठगीका उजुरीहरू परिरहेका छन् । आर्थिक अपराधसँग जोडिएका मुद्दाको संख्या पनि उत्तिकै बढेको पाइएको छ । बाँके जिल्ला अदालतको २०७८ भदौ २३ गतेको फैसलामा कोहलपुर–१० रामनगर बस्ने वर्ष ५२ को चतुर्भज शाहलाई बैंकिङ कसुर मुद्दामा ७ दिन कैद र ८ लाख रुपैयाँ जरिवाना तोकिएको थियो ।
तर फरार अवस्थामा रहेका उनलाई प्रहरी टोलीले पुस १३ गते पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाएको छ । शाहजस्तै बैंकिङ कसुरमा सजाय भोग्नेको संख्या दिनानुदिन बढ्दै छ । बाँकेको अदालत र प्रहरी कार्यालयमा पुगेका बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतका मुद्दालाई हेर्दा ‘चेक’ दिएर ‘फटाही’ गर्नेको कमी छैन । ५० हजारदेखि ६० लाखसम्मका मुद्दा अदालतमा परेको छ । प्रहरीमा त सानातिना दैनिक ४÷५ वटा नै निवेदन आउने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक डिएसपी नारायण डाँगीका अनुसार आर्थिक वर्ष २०८०÷८१ को पुस मसान्तसम्म चेक बाउन्ससम्बन्धी १ सय ५५ वटा उजुरी परेका छन् । बैंकिङ कसुरका मुद्दा त पहिला पनि आउने गर्थे । पछिल्लो वर्ष भने दोब्बरले बढेको छ ।
गाउँ–सहरमा आर्थिक लेनदेनका लागि ‘कागज’ गर्ने र पछिको मिति राखेर ‘चेक’ दिने गरिन्छ । आर्थिक लेनदेनसँग सम्बन्धित यो कारोबारमा ‘विश्वासको संकटमात्रै होइन, फटाही’ हुने गरेको मुद्दाको संख्याले देखाइरहेको छ ।
पछिल्लो समयमा आएर अन्य प्रकारका विभिन्न आपराधिक घटनासहित बाँकेमा आर्थिक अपराधका घटनाहरू पनि बढ्दै गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लामा आर्थिक लेनदेन, ठगी, झुक्क्याउनेलगायतका घटना बढ्दै गएकोमा सबैभन्दा बढी बंैकिङ कसुरका घटनाहरू हुने गरेको पाइएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी डाँगीले जिल्लामा बैंकिङ कसुरका उजुरी विगतका तुलनामा अहिले धेरै नै बढी आउन थालेको बताए ।
उनले गत आर्थिक वर्ष २०७९÷०८० मा मात्र जिल्लामा बैंकिङ कसुरका ३ सय ५ वटा उजुरी परेको बताए । डिएसपी डाँगीले अघिल्लो वर्ष २०७८÷०७९ मा बैंकिङ कसुरका ७५ वटा उजुरीमात्र परेकोमा गत आवमा त्यसको तीन गुणाभन्दा बढी ३ सय ५ वटा उजुरी परेको जानकारी दिए । प्रहरीका अनुसार सोभन्दा पहिले आर्थिक वर्ष २०७७÷०७८ मा त्यस्ता १४ वटा उजुरी मात्र परेका थिए ।
बैंकिङ कसुरलगायत अधिकांश आर्थिक अपराधका घटनाहरू समाजमा पनि मिलाइने गरिएकाले त्यस्ता घटना झनै धेरै भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । प्रहरी प्रवक्ता डिएसपी डाँगीले भने, ‘रकम लिने र दिनेबीच लेनदेन मिलाउन अधिकतम प्रयास गर्दा पनि समाधान नभएपछि पीडितहरू उजुरी बोकेर प्रहरीमा आउँछन्, दुवै पक्षलाई झिकाएर मेलमिलाप गराउने र उजुरीको बारेमा अनुसन्धान गरेर पीडित पक्षलाई न्याय दिने काम गरिरहेका छौँ ।’
पछिल्लो समय उत्पन्न आर्थिक संकटका कारण लेनदेन तथा बैंकिङ कसुरका मुद्दा बढेको जनाइएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले आर्थिक संकटले पनि आर्थिक अपराध बढ्दै गएको हुनसक्ने बताए । उनले आर्थिक संकटका कारण समाजको हरेक वर्ग र समुदाय पीडित बनेकाले त्यसकै कारण पनि आर्थिक अपराध बढ्दै गएको हुनसक्ने आशंका गरे ।
प्रतिक्रिया दिनुहोस्