केदारेश्वरधाममा आयोजित महायज्ञ समापन



बाँसगढी।
बर्दियाको बाँसगढी नगरपालिका–५ स्थित धार्मिक तथा पर्यटकीय स्थल ॐ केदारेश्वर धाम ट्रष्टमा जारी श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ सोमबार सम्पन्न भएको छ । राधिका फाउन्डेसनद्वारा आयोजित तथा धामको व्यस्थापनमा पुस १० गतेदेखि सञ्चालित महायज्ञ सोमबार समापन भएको हो ।

विपन्न महिला तथा अनाथ बालबालिकालाई गुरुकुलीय शिक्षासहितको आश्रम निर्माण गर्ने उद्देश्यले राधिका फाउन्डेसनको शाखा कार्यालय स्थापनार्थ सो महायज्ञ लगाइएको आयोजकले जनाएको छ । फाउन्डेसनकी अध्यक्ष भागवत मन्जरी राधिका दासीको प्रमुख सक्रियता सो महायज्ञ सञ्चालन भएको थियो । बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्काले अनाथ बालबालिकालाई गुरुकुलीय शिक्षासहितको आश्रम निर्माणमा नगरपालिकाले आफ्नो तर्फबाट सधैं आवश्यक सहयोग र समन्वयन गर्ने बताए ।

समापन कार्यक्रममा बोल्दै ॐ केदारेश्वर धामका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले सबैकोे सहयोगबाट नै अभियान सफल भएको बताउँदै सबैप्रति धन्यवाद व्यक्त गरे । सो महायज्ञमा थुप्रै दाताहरूले स्वेच्छिक दान गरेका छन् । सो अवसरमा कति रकम संकलन भयो भन्नेबारे आयोजकले जानकारी दिएको छैन । पत्रकार सम्मेलन गरेरै सोबारे जानकारी दिइने आयोजकले जनाएको छ ।

उक्त ज्ञान महायज्ञमा संकलित रकम र सामग्री पारदर्शी रूपमा महायज्ञको उद्देश्य अनुसार सदुपयोग गरिने आयोजकले प्रतिबद्धतासमेत जनाएको छ । कार्यक्रमलाई सफल पार्न विभिन्न क्षेत्रबाट सहयोग गर्ने सम्पूर्ण गुुरुजन, स्वयमसेवक एवम् दाताहरूलाई समापनका अवसरमा दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०८० पुस १७ गते मंगलबार