नेपालगन्जमा मेट्रिक घर नम्बर प्रणाली सुरु



नेपालगन्ज।
नेपालगन्ज उपमहानगरपालिकाले मेट्रिक घर नम्बर प्रणाली सुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१२ बीपी चोकमा ‘बीपी मार्ग’मा रोड नेम प्लेटको उद्घाटन गर्दै नगर प्रमुख प्रशान्त विष्टले मेट्रिक घर नम्बर प्रणाली सुरु गरेका हुन् । रोड नेम प्लेटको उद्घाटनपछि नगर प्रमुख विष्ट र उपप्रमुख कमरुद्दिन राईले उपमहानगरपालिका कार्यालयमा घर नम्बर प्लेट राखेर अभियानको सुरुवात गरे ।

पहिलो चरणमा वडा नम्बर १२ का ५० वटा घरमा स्याम्प्लिङका रूपमा नम्बर प्लेट राखिने नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर चन्दनराज दासले बताए । पहिलो चरणमा स्याम्प्लिङका रूपमा घर नम्बर प्लेट राख्न सुरु गरिएको बताउँदै दासले १ देखि २३ नम्बर वडाका सबै घरलाई मेट्रिक घर नम्बर प्रणाली जोड्ने लक्ष्य रहेको जानकारी दिए । चालू आर्थिक वर्षमा वडा नम्बर १ का लागि १० लाख बजेट विनियोजन गरिएको छ ।

यो प्रणालीमा मूल सडकको मुख्य विन्दुदेखि दूरी (मिटर)का हिसाबले घरमा नम्बरिङ गरिन्छ । मूल सडकको मुख्य विन्दुदेखि जति दूरीमा घर अवस्थित छ, त्यति नै नम्बर उक्त घरलाई दिइन्छ । मुख्य विन्दुदेखि दायाँतिर जोर नम्बर र बायाँतिर बिजोर नम्बर राखिने दासले जानकारी दिए । मेट्रिक घर नम्बर प्रणालीमा सफ्टवेयरमा घरको फोटो, घरधनीको नाम, कित्ता नम्बरलगायत ‘सामाजिक–आर्थिक तथ्यांक प्रविष्ट गरिएको हुन्छ ।

‘स्याम्प्लिङका रूपमा जिआइजेडले हामीलाई उपलब्ध गराएको सफ्टवेयरमा घरको डाटा इन्ट्री गरेपश्चात दोस्रो चरणमा नम्बर प्लेट राख्छौं,’ इन्जिनियर दासले भने, ‘यो प्रणाली सुरु भएपछि नागरिक (सेवाग्राही)को घर–घर जानुपर्दैन, आवश्यक सूचना सफ्टवेयरबाटै लिन सकिन्छ ।’
नेपालगन्जमा पहिलो चरणमा १० ठाउँमा रोड नेम प्लेट राखिनेछ । हाललाई कौशल्या मार्ग, बीपी मार्ग, इदगाहा मार्ग, प्रगतिनगर मार्ग, आदर्शनगर मार्ग, कर्मशा मार्ग, शीतलनगर मार्ग, कस्तूरी मार्ग, बागेश्वरी मार्ग र खजुरा रोड नामका रोड नेम प्लेट राखिने नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

नगर प्रमुख विष्टले नगरलाई डिजिटलाइज गर्ने अभियानमा लागिपरेको बताउँदै नागरिक–स्थानीय सरकारबीच सहज पहुँचका लागि घर नम्बर प्रणाली लागू गरिएको उल्लेख गरे । नगरको एकीकृत दिगो विकास र समृद्धिका लागि उपमहानगरपालिकाले थुप्रै योजना अघि सारेको भन्दै विष्टले प्रविधिको उच्चतम प्रयोग गरेर अघि बढ्ने बताए । उपप्रमुख राईले यसबाट हरेक घरको जानकारी उपमहानगरपालिकालाई हुने हुँदा सहज हुने जनाए ।

उद्घाटन कार्यक्रममा प्रवक्ता एवम् वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजाल, वडा नम्बर १२ का वडाध्यक्ष तरुणकुमार बज्राचार्य, वडा नम्बर ८ का वडाध्यक्ष रजनिश बाजपेई (विवेक), इन्जिनियर दासलगायत उपस्थित थिए ।

प्रकाशित मिति : २०८० पुस १३ गते शुक्रबार