केदारेश्वरधाममा सुरु भयो भागवत् महायज्ञ



बाँसगढी।
बाँसगढी नगरपालिका–५ मा अवस्थित केदारेश्वरधाममा कलश जात्रासँगै भागवत महायज्ञ सुरु भएको छ । राधिका फाउन्डेसनकी अध्यक्ष राधिका दासीले मंगलबार सो महायज्ञको उद्घाटन गरेकी छन् । विपन्न महिला र बालबालिकाको शिक्षा र स्वास्थ्यमा टेवा पु¥याउने उद्देश्यले फाउन्डेसनको आयोजना र केदारेश्वर धामको व्यवस्थापनमा सो महायज्ञ सञ्चालन गरिएको धामका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले जानकारी दिए ।

महायज्ञ उद्घाटनपूर्व मैनापोखर चोकदेखि धामसम्म करिब एक किलोमिटर कलश यात्रा गरिएको थियो । सो कलश यात्रामा यहाँका विभिन्न धार्मिक, व्यावसायिक, शैक्षिक र सामाजिक संघसंस्थाका प्रतिनिधि तथा स्थानीयबासीको सहभागिता रहेको थियो ।

सात दिनसम्म चल्ने सो महायज्ञकी प्रमुख वाचिका फाउन्डेसनकी अध्यक्ष भागवत मञ्जरी राधिका दासी रहेकी छन् । बुधबारदेखि प्रत्येक दिन ११ देखि ३ बजेसम्म कथावाचन हुने धामका अध्यक्ष बास्तोलाले जानकारी दिए । बेलुकी ७ देखि ९ बजेसम्म भने महात्म्य चल्नेछ ।

महायज्ञबाट संकलित रकम विपन्न बालबालिका तथा महिलाको स्वास्थ्य र शिक्षामा खर्च गरिने बास्तोलाले बताए । ‘केदारेश्वरधामभित्रै गुरुकुल आश्रम निर्माण गर्ने योजना छ,’ उनले भने, ‘जहाँ बालबालिकालाई गुरुकुल साथै आधुनिक शिक्षासमेत दिइनेछ ।’

प्रकाशित मिति : २०८० पुस ११ गते बुधबार