बाँसगढी।
छैटौँ बाँसगढी औद्योगिक, कृषि, पर्यटन व्यापार मेला तथा बर्दिया माघ महोत्सवमा थारू पहिचानसहितको नाच तथा सांस्कृतिक डब्नीभिराउ कार्यक्रम हुने भएको छ । बाँसगढी उद्योग वाणिज्य संघको आयोजनामा यही पुस २९ देखि माघ ९ गतेसम्म सञ्चालन हुने महोत्सवमा थारू पहिचानसहितको डब्नीभिराउ कार्यक्रम हुने भएको हो ।
थारू समुदायको ठूलो पर्व माघीलाई लक्षित गर्दै माघ ४ र ५ गते सांस्कृतिक डब्नीभिराउ कार्यक्रम गर्ने महोत्सव मूल आयोजक समिति संयोजक तथा बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष बद्रीनाथ बरालले बताए ।डब्नीभिराउ कार्यक्रममा विभिन्न समय र चार्डपर्वमा गाइने र नाचिने नाचमध्ये मघौटा, छोक्रा, महोत्या र हुर्दुङ्गवा नाचलाई मात्र सहभागी गराइनेछ ।
कार्यक्रममा मन्दरीया र नचनियासहित १२ जनाको टोली हुनुपर्ने, थारू जातिको पहिरन तथा सन्देशमूलक गीतलाई प्राथमिकता दिइने जनाइएको छ । नाच टिम दर्ता तथा नाच प्रस्तुत गर्ने दिन नाच टोलीलाई निःशुल्क टिकटको व्यवस्थासमेत गरिनेछ ।
कार्यक्रममा सहभागी सबै टिमलाई सम्मानपत्रसहित प्रथम, द्वितीय र तृतीय हुने टिमलाई उचित पुरस्कारको व्यवस्था गरिने जनजाति सांस्कृतिक तथा थारू गाउँ व्यवस्थापन समिति संयोजक बाबुराम थारूले हस्ताक्षरित सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्