नेपालगन्ज।
सिए पढ्न विदेश वा राजधानी जानुपर्ने बाध्यता अब हटेको छ । नेपालगन्जमै यसको पढाइ सुरु भए पछि सिए पढ्न चाहने विद्यार्थीहरूले राहत महसुस गरेका छन् । नेपालगन्जस्थित इन्स्टिच्युट अफ बिजनेस म्यानेजमेन्ट (आइबिएम)ले सिए कक्षा सञ्चालन गरिरहेको छ । अनुभवी चार्टर्ड एकाउन्टेन्टहरूले आइबिएम सञ्चालनमा ल्याएपछि सिए पढ्नका लागि राजधानी काठमाडौँ र भारत जानुपर्ने बाध्यता हटेको हो ।
सिए तेजप्रसाद दीक्षित भन्छन्, ‘हामीले पढ्दा काठमाडौं र दिल्ली जानैपथ्र्यो तर अहिले त्यो अवस्था रहेन । नेपालगन्जमै पनि पढ्न सकिने भएको छ ।’ उनका अनुसार, लेखा, कर, लेखापरीक्षण, व्यावसायिक परामर्शजस्ता क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आइबिएम सञ्चालनमा ल्याइएको हो । संस्थापक सदस्य सिए सागर अधिकारीले आइबिएममै सिए पढाइ र नेपालगन्जमै परीक्षा हुने भएकाले अब सिए अध्ययन गर्न काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य भएको बताए । अर्का सञ्चालक सिए सन्तोष कँडेलले निकट भविष्यमै आइबिएमले लेखा व्यवस्थापन तालिम, करसम्बन्धी तालिम र अर्थसम्बन्धी विभिन्न तालिम तथा गोष्ठीहरू आवश्यकता अनुसार सञ्चालन गर्ने बताए ।
विसं २०५३ मा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्टस अफ नेपाल (आइक्यान) गठन भएपछि नेपालमा औपचारिक रूपमा सिएको पढाइ सुरु भएको हो । बर्सेनि सिएमा औसत ८ सय जना विद्यार्थी भर्ना हुन्छन् । चार्टर्ड एकान्उटेन्सी (सिए) पेसागत शिक्षा हो । यो शिक्षा आर्जन गरेपछि मुख्यतया विद्यार्थीहरूले लेखापरीक्षणको काम गर्न पाउँछन् ।
यसबाहेक सिए अध्ययनपश्चात् विद्यार्थीहरू लेखा, वित्तीय व्यवस्थापन, कर, कानुनलगायत विभिन्न विधामा दक्ष हुने भएकाले सम्बन्धित क्षेत्रमा परामर्शदाता अथवा दक्ष जनशक्तिका रूपमा पनि काम गर्न सक्छन् । खासगरी एनजिओ, आइएनजिओ, बैंक, अस्पताल, सरकारी कार्यालय, प्राइभेट कम्पनी, व्यापार, उद्योगसँग सम्बन्धित कार्यालयमा सिएले काम गर्न सक्छन् ।
घरमै बसेर अध्ययन गर्ने हो भने डेढ लाख रुपैयाँमा अध्ययन पूरा गर्न सकिने आइबिएमले जनाएको छ । ‘इन्स्टिच्युटमा गएर पढ्ने हो भने ३ देखि ३.५ लाख रुपैयाँमै कोर्ष पूरा गर्न सकिन्छ,’ सिए अघिकारी भन्छन्, ‘यदि विदेश गएर अध्ययन गर्ने हो भने तीन गुणा बढी पैसा लाग्छ ।’
शुल्कबाहेक न्यूनतम परीक्षा शुल्क तिर्नुपर्छ भने अन्य कुनै शुल्क तिर्नु नपर्ने कलेजले जनाएको छ ।
अर्को फाइदा के छ भने यसको शुल्क एकमुष्ट तिर्नु पर्दैन । पञ्जीकृत तालिमको अवधिमा प्रशिक्षण भत्ता पनि प्राप्त हुने हुँदा सिए अध्ययनको खर्च निकै न्यून हुने कलेजले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्