बाँकेकी नमुना मन्त्री बन्दै, भोलि शपथ गराउने तयारी



बाँके ।

लुम्बिनी प्रदेश सरकारमा दुई मन्त्री थपेर आइतवार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ । गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेयले कांग्रेसबाट प्युठानका सांसद सरोज थापा र माओवादीबाट बाँकेकी सांसद कृष्णा केसी (नमुना)लाई मन्त्री बनाउने टुंगो लागेको बताए ।

उनका अनुसार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिवार कांग्रेसबाट थापालाई मन्त्री बनाउने टुंगो लगाएका हुन् । थापा र केसीलाई आइतवार विहान सथपग्रहण गराइने कार्यक्रम तय भएको पाण्डेयले बताए । केसीले खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय मन्त्री बन्ने टुंगो लागेको छ । थापालाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारेमा छलफल भइरहेको छ ।

शुक्रवार मन्त्रीपरिषद् विस्तार गर्ने भनिएपनि कांग्रेस भित्र कुरा नमिलेपछि रोकिएको थियो । मुख्यमन्त्री चौधरीले शनिवार थापाको नामअघि सारेका हुन् । थापा कांग्रेस संस्थापन पक्षका सांसद हुन् । कांग्रेसमा संस्थापन इत्तर पक्षले पाल्पाका वीरबहादुर राना र पश्चिम नवलपरासीका विश्वप्रम पाठकलाई मन्त्री बनाउन दबाव दिएपछि शुक्रवारको मन्त्रिपरिषद् विस्तार रोकिएको थियो ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार लुम्बिनी कांग्रेस सभापति अमरसिंह पुनलाई मन्त्रीको नाम माग्दा दिन नसकेपछि थापालाई मन्त्री बनाउने निर्णय गरिएको हो । माओवादीले यस अघिको सहमति अनुसार दुई मन्त्रालयका लागि केसी र रोल्पाका दीपेन्द्र पुनको नाम निर्णय सहित सिफारिस गरेको थियो । तर, कांग्रेस सभापति पुनले गठबन्धनबाट विद्रोह गरी निर्वाचित भएकालाई गठबन्धनबाटै मन्त्री बनाउन नहुने अडान लिएपछि माओवादीले पहिलो चरणमा केसीलाई पठाउने निर्णय गरेको थियो ।

केसी यस अघि पनि केसी आन्तरिक मामिला तथा कानून मन्त्री बनिसकेकी थिइन् । केसीलाई खानेपानी दिएपछि अब थापाले भने वन तथा वातावरण र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयमध्ये एउटा मन्त्रालयको जिम्मेवारी पाउनेछन् ।

प्रकाशित मिति : २०८० पुस ७ गते शनिबार