विद्युतीय पासो थाप्ने पुर्पक्षका लागि थुनामा



बाँसगढी ।

विद्युतीय पासोमा पारी मानिसको ज्यान लिने दुई जना व्यक्तिलाई प्रहरीले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाएको छ । जनावरको सिकार गर्नका लागि प्रयोग गरिने पासोमा पारी मानिसको ज्यान लिएको आरोपमा बाँसगढी नगरपालिका–२ का रामशंकर थारू र जितेन्द्र चौधरीलाई बर्दिया जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गत काक्तिक २१ गते जनावर मार्नका लागि थापिने विद्युतीय पासोमा परी बाँसगढी नगरपालिकाका–२ वमुडवाका राम भगीरथ थारूको मृत्यु भएको थियो । सोही ठाउँका रामशंकर थारूले पासोमा पारेर आफ्नो पतिलाई मारेको आरोप लगाउँदै मृतककी पत्नी रूपा थारूले इलाका प्रहरी कार्यालय बाँसगढीमा सोही दिन किटानी जाहेरी दिएकी थिइन् ।

किटानी जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय बाँसगढीले पहिला रामशंकर थारू र एक सातापछि जितेन्द्र चौधरीलाई पक्राउ गरेको थियो । दुवै जनाले राम भगीरथको मृत्युमा आफूहरूको संलग्नता स्वीकार गरेको इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक शैलेश्वरी बोहराले जानकारी दिइन् । उनीहरू दुवै जनालाई मुद्दा दर्ता गरी पुर्पक्षका लागि थुनामा राखेर थप अनुसन्धान भइरहेको उनले बताइन् ।

यो मुद्दा सकिनेबित्तिकै उनीहरू विरुद्ध वन मुद्दा पनि आकर्षित हुने निरीक्षक बोहराले जानकारी दिइन् । जनावर मार्नका लागि थापिएको पासोमा परी मानिसको मृत्यु भएको छ,’ उनले भनिन्, ‘सँगै एउटा नीलगाई पनि मृत अवस्थामा भेटिएको छ ।’ लापरबाहीपूर्वक विद्युतीय पासो थापिएका कारण मानिसको मृत्यु भएको उनले बताइन् ।

कात्तिक २१ गते बिहान काममा जान भनी हिँडेका राम भगीरथको एकैछिनपछि खेतको बीचमा एक्कासि मृत अवस्थामा लास भेटिएको थियो । उनी थ्रेसरमा धान दाउनका लागि भन्दै घरबाट हिँडेका थिए । राम भगीरथ ट्र्याक्टर मजदुर थिए । उनी गएको केही समयपछि नै एक जना छिमेकी महिलाले उनी लडिरहेको देखेर घरमा खबर गरेकी थिइन् ।

वनमुडुवाकै रामशंकर थारूले थापेको पासोमा परेर राम भगीरथको मृत्यु भएको मृतकका परिवारको भनाइ थियो । ‘अनुसन्धान गर्दै जाँदा जितेन्द्रको पनि यसमा संलग्नता भेटियो,’ निरीक्षक बोहराले भनिन्, ‘उनलाई पनि पक्राउ गरेर हामीले अनुसन्धान अघि बढायौँ । दुवैको योजनामा रामभगीरथको मृत्यु भएको खुल्न आयो ।’

राम भगीरथको मृत्युपछि रामशंकरले शंकास्पद गतिविधि गरेका थिए । राम भगीरथ खेतमा लडिरहेको थाहा पाएपछि मृतककी श्रीमती रूपा थारुसँग घटनास्थलमा पुगेका शंकरले प्रेसरका कारण उनको मृत्यु भएको बताउँदै चाँडो घरमा लगेर दाहसंस्कार गर्न दबाब दिएका थिए ।
उनले लास आफैँले बोकेर मृतकको घरमा ल्याई लासलाई खाटमा राखेर सिरकले छोपेका थिए । मुखमात्र देखिने गरी लास राखेर उनी छिटो दाहसंस्कार गर्नुपर्ने भन्दै दाउरा र बाँसको खोजीमा लागेको मृतककी श्रीमतीको भनाइ छ ।

रामशंकरकै योजनाअनुसार दाहसंस्कारका लागि लैजाने तयारी पनि हँुदै थियो । उनले हरियो बाँस खोजेर लास बोक्नका लागि घारोसमेत बनाइसकेका थिए । रामशंकरले लास जलाउनका लागि ट्र्याक्टरमा दाउसको समेत बन्दोबस्त मिलाइसकेका थिए ।

पछि परिवार र छिमेकीले सिरकले छोपिएको मृत शरीर खोलेर हेर्दा लास जलेजस्तो कालो थियो । प्रेसरले हानेर शरीर यस्तो कालो त नहुनुपर्ने भन्दै उनीहरूले शंका गरे र प्रहरीमा उजुरी दिएका थिए ।

प्रेसरका कारण नभएर रामशंकरले पासो थापेर आफ्ना पतिको कर्तव्य गरी मारेको रूपाले किटानी जाहेरीमा उल्लेख गरेकी थिइन् । घटनास्थलमा एउटा नीलगाई समेत मृत अवस्थामा भेटिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर २९ गते शुक्रबार