तस्करीको चामल नेपाली ब्रान्ड बनाएर बेच्छन् व्यवसायी



नेपालगन्ज ।

भारतबाट तस्करी गरेर नेपालगन्ज भित्र्याइएको चामल नेपाली बोरामा प्याक गरेर बेच्ने गरेको पाइएको छ । त्यस्तो कार्यमा यहाँका प्रतिष्ठित व्यापारी नै संलग्न रहने गरेको पाइएको छ ।

रुपैडियाबाट भन्सार छलेर ल्याएको सस्तो चामल नेपाली ब्रान्ड भन्दै उपभोक्तालाई महँगोमा बेच्दै आएका तीनवटा चामल उद्योगमा प्रहरीले छापा मारेर कैफियत भेटेपछि यस्तो रहस्य खुलेको हो ।

नेपालगन्ज–१ मा सुनिल गुप्ताले सञ्चालन गरेको लता आधुनिक चामल उद्योगबाट १ सय ३६ बोरा, मंगलप्रसाद वैश्यले सञ्चालन गरेको शिवम ट्रेडर्सबाट २८ बोरा, वारिस गुप्ताले सञ्चालन गरेको न्यु राज ट्रेडिङबाट ४४ बोरा चामल बरामद भएको छ ।

३ लाख ५३ हजार ६ सय मूल्यबराबरको चामल बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायण डाँगीले बताए ।

उनका अनुसार भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याएको चामल लुकाइछिपाई पल्टी (नेपाली बोरामा भरिरहेको) भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको हो ।

उक्त सूचनाका आधारमा प्रहरी टोलीले उक्त पल्टी गरेको स्थानबाट खानतलासी गर्दा चामलहरू बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्ज बाँकेमा पठाएको डिएसपी डाँगीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर २४ गते आइतबार