23 July 2024  |   मङ्लबार, साउन ८, २०८१

भूपू सैनिकद्वारा भूकम्प प्रभावितलाई जस्ता र कम्बल वितरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, मंसिर १९, २०८०  

कोहलपुर ।

नेपाल भूपू सैनिक विकास समिति कोहलपुरले जाजरकोटका भूकम्पपीडितलाई राहत सामग्री वितरण गरेको छ । आइतबार कोलपुरमा एक कार्यक्रमका बीच भूकम्पपीडितलाई राहत सामग्री वितरण गरिएको हो ।

पछिल्लो समय चिसोले भूकम्पपीडितहरूलाई रात बिताउन समस्या भएकाले थोरै भए पनि सहयोग पुग्ने उद्देश्यले राहत सामग्री वितरण गरिएको नेपाल भूपू सैनिक विकास समिति कोहलपुरका अध्यक्ष क्याप्टेन कुमारबहादुर रानाले बताए ।

दुःख परेका बेला नेपाल भूपू सैनिक विकास समिति कोहलपुरले क्षमताअनुसार सहयोग गर्दै आइरहेको उनले बताए । भूकम्प गएको केही दिनमै जाजरकोटमै गएर खाद्यान्न वितरण गरेको रानाले बताए ।

२ लाख रुपैयाँबराबरका जस्ता पाता र चार थान कोरियन कम्बल वितरण गरेको उपाध्यक्ष पदमसिंह आचार्यले मिसन टुडेलाई जानकारी दिए । अहिले भूकम्पपीडितहरूलाई खाद्यान्न भन्दा पनि बस्नका लागि आवास र कपडाको आवश्यकता रहेको उनले बताए ।

‘पहिलो चरणमा २ सय बोराभन्दा बढी चामल वितरण गरेका थियौं,’ आचार्यले भने, ‘अहिले चिसो बढेकाले लत्ता कपडा र आवास निर्माणका लागि टिन आवश्यक देखियो ।’ त्यसैले आवश्यकता अनुसार राहत सामग्री वितरण गरेको उनले बताए ।

नेपाल भूपू सैनिक विकास समिति कोहलपुरले गरेको सहयोगले ठूलो राहत भएको भूकम्पपीडित रोशन रानाले बताए । ‘घर पूर्णरूपमा नष्ट भएकाले अहिले त्रिपालमा बसेका छौं,’ उनले भने, ‘शीतले र चिसोले वृद्धवृद्धा बालबालिकालाई गाह्रो छ ।’

राहतका लागि उनले भूपू सैनिकहरूलाई धन्यवादसमेत दिए ।

 

प्रकाशित मितिः मङ्लबार, मंसिर १९, २०८०     8:58:42 AM  |