कोहलपुरबाट लागूऔषधसहित दम्पती पक्राउ



बाँके ।

कोहलपुर क्षेत्रबाट ठूलो परिमाणमा लागूऔषधसहित प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ । केही समययता लागूऔषधविरुद्व अपरेशन चलाइरहेको कोहलपुर प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित दम्पतीलाई नै पक्राउ गरेको हो ।

नेपालगन्ज–कोहलपुर सडकखण्डको कोहलपुर–८ पिपिरीबाट इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले लागूऔषधसहित दम्पतीलाई नियन्त्रणमा लिएको थियो ।

लागूऔषध चरेश र अफिमसहित पक्राउ पर्नेमा कोहलपुर–८ का ४० वर्षीय रेवन्त राना र उनकी श्रीमती ३३ वर्षीया कविता थापा रहेको बाँके प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए । उनीहरूको साथबाट प्रहरीले १२ किलो ७ सय ४ ग्राम चरेस र २ किलो १ सय १६ ग्राम अफिस बरामद गरेको थियो ।

‘लागूऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचना पाएपछि पुगेको प्रहरीले दम्पती सवार बा५प८२१५ नम्बरको कारमा चेकजाँच गर्दा चरेस र अफिम फेला परेको हो,’ डिएसपी डाँगीले भने, ‘उनीहरूलाई यसअघि समेत लागूऔषध मुद्दा चलेको अनुसन्धानबाट खुलेको छ ।’

रेवन्त यसअघि पनि विस २०७१ चैत १९ गते जिल्ला प्रहरी कार्यालय बर्दियाबाट लागूऔषध कसुरमा पक्राउ परेका थिए । तत्कालीन समयमा रेवन्तविरुद्ध बाँके प्रहरीले २०७२ साल असोज २० गते सार्वजनिक अपराधमा मुद्दा दायरसमेत गरेको थियो । साथै इलाका प्रहरी कार्यालय, कोहलपुरले २०७३ साल असार ३ गते लागूऔषध मुद्दामा उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

चरेस र अफिससहित पक्राउ परेका दम्पतीलाई लागूऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ बमोजिम १५ वर्षदेखि जन्मकैद र ५ लाखदेखि २५ लाखसम्म जरिवानाको व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उनीहरूलाई लागूऔषध मुद्दामा अदालतबाट हिरासतमा राख्नका लागि म्याद थप गरेर इलाका प्रहरी कार्यालय कोहलपुरले अनुसन्धान अगाडि बढाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर १९ गते मंगलबार