गुरुवागाउँ मेलामा जुधे भेडा !



भेडा जुधाइ केवल मनोरञ्जन र परम्परा जोगाउनका लागि मात्र हो, जित्नेले कुनै पुरस्कार पाउँदैन । जसको भेडाले जित्छ उसको मालिकको केवल वाहवाही हुन्छ, वर्षभरि गाउँमा उसको चर्चा चल्छ, खाली यसैका लागि मात्र वर्षभरि दुःख गरेर भेडा पालनपोषण गरी जुधाउने गरिन्छ ।

बाँके ।

कात्तिक शुक्ल पूर्णिमाको अवसरमा बाँकेको जानकी गाउँपालिका–५, बेलहरीस्थित गुरुवागाउँ मेलामा भेडा जुधाइएको छ । बेलहरीस्थित गुरुवागाउँमा लाग्ने मेलामा भेडा जुधाउने ऐतिहासिक परम्परा रहेको नागा बाबा मन्दिर संरक्षण समितिका अध्यक्ष जगतराम कुर्मीले जानकारी दिए ।

परापूर्वकालदेखि चलेको भेडा जुधाउने परम्परालाई अहिलेका पुस्ताले पनि यसवर्ष निरन्तरता दिएका थिए । यसै संरक्षण समितिकै आयोजनामा गुरुवागाउँ मेला सञ्चालन हुँदै आएको समितिका अध्यक्ष कुर्मीले बताए ।

‘यो मन्दिर २ सय वर्षअघिको हो, २ सय वर्षअघि यहाँ नागा बाबा हुनुहुन्थ्यो, बाबाकै नामबाट मन्दिरको नाम नागा बाबा मन्दिर नामकरण भएको हो,’ उनले भने, ‘तबदेखि नै हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिनदेखि तीनसम्म लगातार मेला लाग्ने गरेको छ र मेलामा भेडा जुधाउने कार्यक्रम पनि निरन्तर चलिरहेको छ ।’

भेडा जुधाउन बाँकेका विभिन्न स्थानबाट मानिसहरू भेडा लिएर मेलामा आउने गरेका छन् । अध्यक्ष कुर्मीका अनुसार हरेक वर्ष सय बढी भेडाहरू एकआपसमा जुधाउने गरिन्छ । व्यावसायिक हिसाबले पाल्ने भेडा र जुधाउनकै लाग्ने पाल्ने भेडा भिन्दाभिन्दै हुने उनले बताए ।

उनका अनुसार जुधाउनका लागि पालिने भेडालाई विशेष खानपानको व्यवस्था हुन्छ । जुधाउने भेडालाई किसानले वर्षभरि विशेष किसिमको तागतिलो खानेकुरा खुवाएर पाल्ने गर्छन् ।

भेडा जुधाइ केवल मनोरञ्जन र परम्परा जोगाउन मात्रै भएको संरक्षण समितिका अध्यक्ष कुर्मीले बताए ।

‘भेडा जुधाइ केवल मनोरञ्जन र परम्परा जोगाउनका लागि मात्र हो, जित्नेले कुनै पुरस्कार पाउँदैन,’ उनले भने, ‘जसको भेडाले जित्छ उसको मालिकको केवल वाहवाही हुन्छ, वर्षभरि गाउँमा उसको चर्चा चल्छ, खाली यसैका लागि मात्र वर्षभरि दुःख गरेर भेडा पालनपोषण गरी जुधाउने गरिन्छ ।’

कोहलपुर नगरपालिका–१४ अकलघरुवाबाट भेडा जुधाउन मेलामा पुगेका ६८ वर्षीय लच्छु अहिरले आफूले वर्षौँदेखि मेलामा भेडा जुधाउन ल्याउने गरेको बताए ।

‘भेडा जुधाएर केही मिल्दैन तर हाम्रो सयौँ वर्ष अघिदेखि चलिआएको चलनलाई जोगाउन र सोखका लागि मात्र ल्याएर जुधाउने गरिन्छ,’ मेलामा भेडा लिएर आएका उनले भने, ‘आफ्नो भेडाले जितेमा वर्षभरि गाउँमा नाम चल्छ । त्यसैले यसपटक पनि भेडा लिएर आएको हुँ ।’

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर १३ गते बुधबार